
काठमाडौं । सुनसरी, चितवन र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा शनिबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना ४ ख ६८४० नम्बरको बसले को ५ प ४००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नाम थर ठेगाना नखुलेका अन्दाजी २६ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।
दुवै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१० मा शनिबार राति नै सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय दिपक सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रा २ प ६५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा लमही नगरपालिका–९ रिहारका २४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्