२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


आन्तरिक हवाई प्रयोग गर्ने यात्रुको संख्या बढ्याे

तीन महिनाकाे अवधिमा ११ लाख ४० हजार बढी

546
Shares

काठमाडौं । नेपालमा उत्साहजनक रुपमा आन्तरिक हवाई यात्रुको वृद्धि भएको छ ।

सन् २०२२ को जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ११ लाख ४० हजार ६ सय ३२ यात्रुले आन्तरिक हवाई सेवा प्रयोग गरेका छन। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २३ दशमलव २८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा करिब पौने ९ लाख यात्रुले हवाई यात्रा गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल भएर जनवरीमा तीन लाख ४८ हजार पाँच सय ८६ यात्रुले आन्तरिक यात्रा गरेका थिए भने फेब्रुअरीमा तीन लाख ६१ हजार एक सय ४९ र मार्चमा चार लाख ३० हजार आठ सय ९७ यात्रुले हवाई यात्रा गरेका छन् । गत वर्षको सोही अवधीमा क्रमशः दुई लाख ४९ हजार, दुई लाख ८६ हजार र तीन लाख ४६ हजार यात्रुले जहाजबाट यात्रा गरेका थिए ।

कोरोना महामारी अघि सन् २०१९ मा एक वर्षमा झन्डै ४२ लाख आन्तरिक यात्रुले हवाई यात्रा गरेका थिए । तर, २०२० मा कोभिड महामारी फैलिएपछि सरकारले लकडाउन तथा निषेधाज्ञा गरेका कारण वायुसेवाको उडानसँगै यात्रु संख्या पनि घटेर ११ लाखमा सीमित भएपनि सन् २०२१ मा कोभिडकैबीच यात्रु बढेर साढे १४ लाख पुगेका थिए । यो वर्ष यही गतिमा हवाई यात्रुहरू बढ्दै गए ५० लाख आन्तरिक यात्रु पुग्ने अनुमान वायुसेवा कम्पनीहरूको छ । त्रिभुवन विमानस्थलबाट मात्र होइन, पोखरा, नेपालगन्ज र विराटनगरलाई बेस बनाएर पनि विभिन्न गन्तव्यहरूमा दैनिक उडान भइरहेको छ ।

तीन महिनाको अवधिमा बुद्ध एयरबाट मात्रै ६ लाख ८ हजार ८ सय ८८ यात्रुले यात्रा गरेका छन् । बुद्धले तीन महिनामा यात्रा गरेका कुल यात्रुमध्ये ५३ दशमलव ३८ प्रतिशत यात्रुलाई सेवा प्रदान गरेको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । आन्तरिक उडानका लागि १६ वटा जहाज रहेको बुद्ध एयरले औसतमा दैनिक ६ हजार सात सय ६५ यात्रु बोक्ने गरेके छ । तीन महिनामा त्रिभुवन विमानस्थल हुँदै २ लाख ५२ हजार ७ सय २५ यात्रु बोकेर यति एयरलाइन्स दोस्रो नम्बरमा छ । यो कुल यात्रुको २ दशमलव १५ प्रतिशत हिस्सा हो । त्यसैगरी श्री एयरलाइन्सले ३ महिनामा १ लाख ६४ हजार ६ सय २५ यात्रु बोकेको छ ।

जुन कुल यात्रु संख्याको १४ दशमलव ४३ प्रतिशत हिस्सा हो ।