१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मतदाता फकाउँदै ओली, फुकाल्न सक्लान् गठबन्धनको गाँठो ?


286
Shares

काठमाडौं । नेपाली राजनीतिमा उक्ति नै छ– ओलीको बोली । धाराप्रवाह बोलेर मतदाता प्रभावित गर्ने त्यही बोली एमालेका लागि मतदाता फकाउने हतियार बनेको छ ।

अघिल्लो स्थानीय चुनावमा देशैभरि उत्साहजनक मत हासिल गरेर आफ्नो वर्चस्व राखेको एमालेका लागि त्यो विरासत जोगाउने चुनौती छ । त्यो परिस्थिति बुझेको एमाले नेतृत्व गठबन्धन दलका नेता पछ्याउँदै उनीहरूको आरोपको जवाफ दिन व्यस्त देखिन्छ ।

पार्टीको प्रतिष्ठा बनेका महानगर र उपमहानगरपालिकामा हुने सभालाई ओली स्वयंले सम्बोधन गर्नुभएको छ । यसै क्रममा सोमबार पोखरा पुग्नुभएका अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्दै निर्वाचनमा धाँधली हुने शंका गर्नुभयो ।

उम्मेदवार फेरेर जोखिम मोलेको पोखरा महानगरको निर्वाचन आफ्नो पक्षमा पार्न अध्यक्ष ओलीले सोमबार ठूलो कसरत गर्नुभयो । आइतबार मात्रै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले पोखरा पुगेर एमाले र ओलीको खोइरो खनेका थिए ।

जवाफ ओलीले पोखरा पुगेरै फर्काउनुभयो । उहाँले गठबन्धन झाडीमा जन्मिएको टिप्पणी गर्दै देशकै कलंक भएकोसमेत टिप्पणी गर्नुभयो ।

पूर्वसहकर्मी माधवकुमार नेपालप्रति आक्रामक ओलीले नेपाल एमालेको १५ वर्ष रस चुसेर, काँधमा चढेर, २१ महिना प्रधानमन्त्री भएको भन्दै वैशाख ३० पछि कर्मको परिणाम भोग्ने चेतावनी दिनुभयो । गठबन्धन भोटले नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको उहाँको जिकिर थियो ।

अध्यक्ष ओलीले कांग्रेस धम्की सुन्ने पार्टी भएको पनि बताउनुभयो । उहाँले आफूले बोलेको विषय बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा भएको दाबी गर्नुभयो ।