
काठमाडौं । महिला अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमारसिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेको आरोप छ ।
अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा उनको शव फेला पारेको थियो । महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको पुथा उत्तरगंगामा माओवादी केन्द्रसँग पटक पटक विवाद र दुई समूहबीच झडपसमेत हुँदै आएको छ ।
मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्