२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


झन् खस्किए अर्थतन्त्रका सूचक


1.313k
Shares

काठमाडौं । सरकारले विभिन्न प्रयास गरे पनि अर्थतन्त्रका सूचकहरू झन् खस्किएका छन् । सरकारको कोसिसका बाबजुद चालू आर्थिक वर्षको नौ महिनामा आइपुग्दा अर्थतन्त्रका अधिकांश सूचकहरू सन्तोषजनक नभएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ। नेपालमा आउने भन्दा नेपालबाट बाहिर जाने रकम धेरै भएका कारण शोधनान्तर स्थिति ऐतिहासिक रुपमा घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो।

साथै, चैत मसान्तमा चालू खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको नवौं महिनामा चालू खाता २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । हाल विदेशी मुद्रा सञ्चिति घट्दो क्रममै रहेका तथा मूल्यवृद्धि तथा बढिरहेका कारण पनि अर्थतन्त्र चिन्ताजनक नै रहेको देखिन्छ । आयात कम गर्न राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेको थियो भने सरकारले १० वस्तुको आयात रोकेको थियो । तर, पनि आयातमा कमी आउन सकेको छैन । आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार आयात ३२ प्रतिशतले बढेर १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ भने कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ पुगेको छ। जसका कारण चालू आवको नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

सरकारले आयात प्रतिबन्ध गर्दा पनि विदेशी मुद्रा सञ्चितिमा दबाब कायमै रहेको छ । चालू आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत महिनामा विदेशी मुद्राको सञ्चिति ३ अर्ब ८ करोड रुपैयाँले घटेको राष्ट्र बैंकले जनाएको छ। फागुन मसान्तसम्म कुल विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा विदेशि मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको ९ महिनामा १६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको पनि राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।