
एजेन्सी । फिनल्यान्डले उत्तर एटलान्टिक सन्धि सङ्गठन(नेटो)को सदस्य बन्नका लागि आवेदन दिने निर्णय गरेको छ ।
फिनल्यान्डका राष्ट्रपति साउली निनिस्टो र प्रधानमन्त्री सान्ना मारिनले संयुक्त विज्ञप्ति निकालेर नेटोको सैन्य गठबन्धनमा सामेल हुन आवेदन दिने निर्णय भएको बताएको बीबीसीले जनाएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्डले यो निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । दोस्रो विश्व युद्धपछि फिनल्यान्डले कुनै पनि गठबन्धनमा सामेल नहुने तटस्थताको नीति लिए पनि अहिले फिनल्यान्ड नेटो सदस्य बन्न लागेको हो ।
रुसले नेटोमा आबद्ध नहुन फिनल्यान्डलाई पटक–पटक चेतावनी दिँदै आएको छ । रुस र फिनल्यान्डबीच १३ सय किलोमिटर लामो सीमा रहेको छ । आफ्ना छिमेकी देश नेटोमा संलग्न हुँदा राष्ट्रिय सुरक्षामा ठूलो जोखिम निम्तिने रुसको चिन्ता छ ।
फिनल्यान्डसँगै रुसको अर्को छिमेकी स्विडेनले पनि नेटोको सदस्य प्राप्तिका लागि आवेदन दिने तयारी थालेको छ । नेटो सैन्य गठबन्धन सन् १९४९ मा स्थापना भएको हो ।
१२ वटा देशबाट सुरु भएको नेटो गठबन्धनमा अमेरिका, बेलायत, फ्रान्ससहितका शक्तिशाली ३० वटा देश सदस्य रहेका छन् । नेटो सदस्यमा कुनै देशमा आक्रमण भएमा सबै देशले संयुक्त प्रतिरोध गर्ने नीति रहेको छ ।
यसअघि, बेलायतले स्वीडेन र फिनल्याण्डसँग पारस्पारिक सुरक्षा सम्झौता गर्न सहमति जनाएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेटोमा सामेल हुने बहसका बीच सम्झौतामा हस्ताक्षर गर्न दुवै देशको भ्रमण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्