१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025

स्थानीय तहकाे निर्वाचनमा आज देशभर एकैसाथ मतदान सुरु


117
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन आज (शुक्रबार) देशभर एकैसाथ मतदान सुरु भएको छ ।

७ सय ५३ वटै स्थानीय तहमा एकसाथ मतदान सुरु भएको निर्वाचन आयोगले जनाएकाे हाे । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् । निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् । जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । विभिन्न स्थानीय तहका ९ स्थानमा भने उम्मेदवारको मृत्यु भएकाले मतदान रोकिएको छ । त्यहाँ पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ । मतदानका लागि मतदाता नामावलीमा नाम भएको र मतदाता परिचयपत्र आवश्यक पर्छ । तर, मतदाता परिचपत्र हराएको, नष्ट भएकाहरुले पनि भोट हाल्न पाउनेछन् ।