१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हुम्ला, दोलखा र बारामा झडप हुँदा ४ जना घाइते


2.496k
Shares

काठमाडौं । हुम्लामा आज (शुक्रबार) बिहान मतदानका क्रममा झडप हुँदा निर्वाचन अधिकृत नै घाइते हुनुभएकाे छ ।

चंखेली गाउँपालिकास्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन र स्वतन्त्र उम्मदेवार पक्षधरबीच झडप भएको हो । झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र निर्वाचन कार्यालयका सहयोगी र एक जना स्थानीय महिला घाइते भएका छन् । झडपपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको छ ।

पालिकाको वडा नम्बर १, २ र ३ का मतदान स्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडपको अवस्था आएपछि मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकाे छ । मतदान सुरु भएलगत्तै बुथ कब्जाको कोशिस भएपछि झडप भएको हो ।

मतदाताको बाटो नै अवरुद्ध गरेका कांग्रेस–एमाले कार्यकर्ताले मतदान केन्द्रमा ढुंगामुढा समेत गरेका छन् । वडा नंबर १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । मतदान सुचारु गराउन सर्वदलीय बैठक राख्ने कोशिस भईरहेको बुझिएको छ । उता, बाराको देवताल गाउँपालिकाको वडा नम्बर ७ मतदान केन्द्रमा मतदानका क्रममा झडप भएको छ । झडपका क्रममा एक जनाको टाउको फुटेको छ ।

झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार समेत गरेको छ ।