
काठमाडौं । आफ्नो मनले खाएको उम्मेदवारलाई मत दिन स्याङ्जाको वालिङ नगरपालिका १४ पञ्चमूलबाट हिँडेका २७ मतदाताका लागि चुनावी साइत अपसगुन ठहरियो ।
मतदान गर्न नपाइ उनीहरू चढेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो । सम्भवत: स्थानीय चुनावले छोडेको यो ठूलो पीडादायी घाउ हो । त्यसबाहेक मतदानप्रति अनपेक्षित पात्रको उत्साहपूर्ण सहभागिता साँच्चै प्रेरणादायी देखियो ।
बैतडीको पाटन नगरपालिकामा १ सय १३ वर्षीया मानमत्ती भट्ट र इलामकी १ सय ११ वर्षीया विष्णुमाया अधिकारीले मतदान गरेर नागरिक मतको गरिमा पुष्टि गरे । भट्ट नै सर्वाधिक उमेरकी मतदाता बन्नुभएको छ ।
दार्चुलाका एक मतदाताको त मत हाल्नासाथ बेहोस भएर बाटैमा इहलीला समाप्त भयो । नवलपरासीमा सय वर्ष माथिका ४ मतदाताले मतदान गरे । कोही अक्सिजन सिलिण्डर, कोही ह्वीलचेयर त कोही बुईमा बोकिएर मतदानका लागि उपस्थित थिए ।
तनहुँको ब्यास नगरपालिकाका ९९ वर्षीय बृषसिं गुरुङलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रमा पुर्याइएको थियो । रोल्पाको थवाङमा १०१ वर्षीया पूणी घर्तीलाई बोकेर मतदान केन्द्रसम्म ल्याएर मतदान गराइयो ।
मुगुको खत्याड गाउँपालिका सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया कर्म गरेका बेला मतदान गरेका हुन् । प्रतिकूल अवस्थामा पनि नागरिकले चुनावप्रति देखाएको अपनत्व प्रशंसनीय छ । यो इमानमाथि उमेदवारले काममार्फत न्याय दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्