
काठमाडौं, चैत २७ । नेपाल टेलिकमले ‘स्टे कनेक्टेड अफर’को अवधि थप गरेको छ ।
‘लकडाउन’को अवस्थामा टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डेटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको जनाएको हो ।
सरकारले तेस्रोपटक लकडाउनको अवधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यस अफरको अवधि पनि २७ चैत २०७६ बाट ०४ वैशाख २०७७ सम्म बढाएको जनाएको हो ।
यसैगरी, कम्पनीले ‘विन्टर अफर’का रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई ‘स्प्रिङ अफर’का रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको पनि जनाएको छ ।
पूर्ण लकडाउनको अवधिमा कम्पनीका ‘एडीएसएल’, ‘एफटीटीएच’ तथा ‘वाइम्याक्स’ सेवाका ग्राहकवर्गलाई महसुल भुक्तानी तथा रिचार्ज सेवा उपलब्ध हुन कठिन हुने भएकाले यस अवधिमा समयावधि सकिने लाइनहरुको म्याद यसअघि चैत २५ गतेसम्म बढाइएकोमा यसलाई भने कम्पनीले निरन्तरता नदिने भएको छ ।
हाल रिचार्ज कार्डको व्यवस्थापन सन्तोषजनक रहेको तथा महसुल भुक्तानीका लागि विभिन्न विकल्पहरु उपलब्ध भएको हुनाले समय थपलाई निरन्तरता नदिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्