
सर्लाही । सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन् ।
लालबन्दी नगरपालिका–८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भएपनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको छ ।
९ वटा मत गायब भएपछि एमालेका कार्यकर्ताहरु राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काजाममा उत्रिएका हुन् । एमाले कार्यकर्ताले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् ।
लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराती नै लालबन्दी –८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको जनाएको छ । पाख्रिन ४६० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले ४४४ मत ल्याएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ ।
प्रतिक्रिया दिनुहोस्