
काठमाडौं । अहिले विश्वभर नै विद्युतिय सवारीको माग बढ्दो छ ।
नेपाली बजारमा करिब तीन दशक अगाडि नै विद्युतिय सवारीको संख्या उल्लेख्य रुपमा देख्न सकिन्थ्यो, यस हिसाबले नेपाल अहिले विश्वमा विदुतिय सवारी संचालनमा निकै अगाडि हुनु पर्ने थियो ।
तर, आज पनि सरकार यस सम्बन्धि नीति निर्माण र योजना तर्जुमा मै व्यस्त छ । यसका लागि सरकार गम्भीर रूपमा लाग्नैपर्ने अवस्था आएको सम्बन्धित विज्ञहरूले बताउँदै आएका छन् ।
मुलुकभित्र सञ्चालित लाखौं सवारीलाई विद्युतिय सवारीमा रुपान्तरण गर्नुको सहजता र कठिनाइका बारेमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युएनस्क्यापको संयुक्त आयोजनामा दुई दिने कार्यशाला गेष्ठी काठमाडौंमा सुरु भएको छ ।
गोष्ठीले नेपालमा पेट्रोलियम सवारीलाई विस्थापित गरी प्रभावकारी रूपमा विद्युतिय सवारीको प्रयोग वृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने सहसचिव केशव कुमार शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले वातावरण मैत्री सवारीका लागि सरकारले पहल गरिरहेको बताउनुभयो ।
धरान उप–महानगरपालिकामा फोहोरबाट ग्यास उत्पादन गरि २५ टेम्पो सञ्चालनमा रहेको र दुईसय ५० ले स्वीकृति लिएको जानकारी दिँदै वातवरणमैत्री सवारीको सुरुवात भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले साना सवारी धनीलाई उचित सहुलियतको व्यवस्था गरी ठूला–ठूला विद्युतिय सवारीमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । यस्तो योजना कार्यान्वयनका ठूलो प्रयास र आँटको आवश्यकता पर्ने उहाँको भनाइ छ ।
नेपालको व्यापार घाटा वर्षेनी डरलाग्दो तरिकाले वृद्धि हुँदै आएको सन्दर्भमा पेट्रोलियम पदार्थको आयात निरुत्साहित गर्न सरकार र निजी क्षेत्रले शसक्त रूपमा विद्युतिय सवारीको प्रयोगलाई सहज बनाउनुपर्ने भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्