१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी गराउन सरकारलाई निर्देशन


39
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक सुरक्षा समितिले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले मातृ–शिशु मृत्युदर न्यूनिकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा लैङ्गिक उत्तरदायित्वको पक्षलाई नीतिगत र व्यवहारिक रूपमा महत्व दिन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकका निर्णय सुनाउँदै समतिकी सभापति निरुदेवी पालले बजेटका विभिन्न चरणमा लैङ्गिक परीक्षण गरेर आर्थिक नीति एवम् राष्ट्रिय विकास नीतिहरुबाट परेका असरहरुको नियमित विश्लेषण गर्न पनि सरकारलाई निर्देशन दिनुभयो ।

उहाँले लैङ्गिक उत्तरदायित्वको पक्षमा आवधिक रुपमा सुधार गर्नुपर्ने कार्य पहिचान गरी वार्षिक रुपमा समिक्षा गर्दा सामाजिक एवम लैङ्गिक क्षेत्रलाई समेत महत्व दिन निर्देशन दिनुभयो ।

महिनावारीको समयमा आवश्यक पर्ने प्याडलाई गुणस्तर मापदण्ड बनाई कार्यान्वयमा ल्याउन, स्वास्थ्यलाई हानी गर्ने प्रकिृतिका प्याडहरुलाई निरुत्साहित गर्न र प्याडको सरल, सहज र सुपथ मूल्यमा उपलब्ध हुने वातावरण बनाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।