
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाउनुभयो ।
भट्टराईले सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको बताउनुभयो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भनेर निर्देशन गरे पनि १० महिनामा ३० प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको बताउनुभयो ।
भट्टराईले अर्थमन्त्री शर्मालाई अबको ३ महिनामा पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ भनेर प्रश्न समेत गर्नुभयो । उहाँले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरे पनि सरकारको प्राथमिकता समाजवाद केन्द्रित नदेखिएको बताउनुभयो ।
भट्टराईले अर्थमन्त्री शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रधानमन्त्रीको की आफ्नै सिद्धान्त ल्याएको भनेर प्रश्न समेत गर्नुभयो । भट्टराईले गठबन्धन सरकार आएसँगै मुलुकको औपचारिक आर्थिक प्रणाली ध्वस्त हुँदै गएको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्