
काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ ।
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार बालेन्द्र शाहले २१ हजार १११ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार स्थापितको घर रहेको वडा नम्बर २८ मा नै स्वतन्त्र उम्मेदवार शाहले स्थापितले भन्दा बढी मत पाउनुभएको छ । उक्त वडाको मत गणना अहिले पनि जारी छ । उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो पार्नुभएको छ ।
उहाँले १२ हजार ३५२ मत पाउनुभएको छ भने एमालेका विजय सुवेदीले ९ हजार ९६७ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३५५ मत पाउनुभएको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले १५ हजार ३५८ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ९६१ मत प्राप्त गर्नुभएको छ ।
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राख्नुभएको छ । अहिलेसम्म उहाँले १६ हजार ४५५ मत प्राप्त गर्दा एमालेका सागर थापाले १२ हजार २५५ मत पाउनुभएको छ ।
यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १८ हजार ४६२ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले १६ हजार ४२९ मत पाउनुभएको छ ।
वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंहले १३ हजार ८७८ मत प्राप्त गर्दा एमालेका विजयकुमार सरावगीले ७ हजार ३ मत ल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्