
काठमाडौं । देशका ११ वटा उपमहानगरपालिकामध्ये दुई वटाका अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
बाँकी ९ वटामा अहिले मतगणना जारी रहेकाे छ । दाङको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मतका साथ विजयी हुनुभएको छ । दोस्रो स्थानमा आउनुभएका कांग्रेसका हेमराज शर्माले २६ हजार ३६८ मत पाउनुभयो । घोराहीको उपमेयरमा एमालेकै हुमाकुमारी डिसी निर्वाचित हुनुभयो ।
उता बाराको जितपुर सिमरामा माओवादीका राजन पौडेल १८ हजार ७४३ मतका साथ विजयी हुँदा एमालेकी सरस्वती देवी चौधरी १७ हजार ७७९ मतसहित दोस्रो स्थानमा रहनुभएकाे हाे । जितपुर सिमराको उपमेयरमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी १७ हजार ४९२ मतसतिह विजयी हुनुभएकाे छ ।
बाराकै कलैया उपमहानगरमा एमालेका विनोदप्रसाद साह १३ हजार ३२१ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका राजेश राय यादव ८ हजार ६५९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । मकवानपुरको हेटौंडामा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले १५ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेका अनन्त पौडेल १४ हजार ५४० मतसहित दोस्रो स्थानमा रहदा राप्रपाका दीपक सिंह १३ हजार ९८८ मतसहित तेस्रो स्थानमा झर्नुभएको छ । सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले १५ हजार ४०७ मत ल्याउदा एमालेका यामकुमार सुब्बाले १२ हजार ८६८ मत पाउनुभएको छ । सुनसरीकै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले ८ हजार १४० मत ल्याउदा नेपाली कांग्रेसका किशोर राईले ८ हजार १२६ मत प्राप्त गर्नुभएको छ ।
कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२ हजार ९०६ मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृपबहादुर वड ६ हजार ३१० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले १५ हजार ४९७ मतका साथ अग्रता लिंदा एमालेका पशुपती दयाल मिश्र ७ हजार ७४६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले १५ हजार ५८९ मत ल्याउदा एमालेका बाबुराम भट्टराई १० हजार ५७६ मतसहित दोस्रोमा हुनुहुन्छ । दाङको तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका गेहेन्द्र गिरीले २८ सय ५६ मतसहित अग्रता बनाउँदा एमालेका टिकाराम खड्का २८ सय ३९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।
यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार शाह सुडी ५ हजार ६१ मतसहित पहिलो स्थानमा रहदा नेकपा एमालेका शिवशंकर शाह ३ हजार २३१ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्