
विराटनगर, जेठ २७ । प्रदेश नम्बर १ को सरकारले ‘एक नम्बर प्रदेशको सान सबैको अनुहारमा मुस्कान’ नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख डा गोविन्द सुब्बाले प्रदेश सरकारको आर्थिक बर्ष ०७५÷०७६को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रदेश १ ले आगामी ५ बर्षमा पर्यटनमा प्राथमिकताका साथ लगानी बढाउने नीति तर्जुमा गरेको छ ।
गरीब परिवारको पहिचान गरी परिचयपत्रको व्यवस्था गर्ने र उनीहरुलाई सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार निर्माणमा पहिलो प्राथमिक्ता दिइने उल्लेख छ ।
विराटनगर विमानस्थललाई प्रदेशको मुख्य विमानस्थलका रुपमा विकास गर्ने र त्यसबाट प्रदेशका अन्य जिल्लाहरुको आन्तरिक उडानको ब्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
तीन बर्षभित्र प्रदेश १ मा जलासययुक्त ४५ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजनाहरु शुरु गरेर पाँच बर्षभित्र प्रदेशलाई लोडसेडिङमुक्त गर्ने घोषणा पनि गरिएको छ ।
विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाएर त्यहाँ स्थापना हुने उद्योगहरुलाई बिजुली, पानी लगायतका आवश्य कुरामा सहुलियत प्रदान गर्ने पनि प्रदेश सरकारले घोषणा गरेको छ । यस्तै विराटनगरदेखि इटहरी हुँदै किमाथाङका जोडने व्यापारिक मार्गलाई गौरवको आयोजनाका रुपमा अगाडि बढाउने पनि प्रदेश सरकारको कार्यक्रममा छ ।
प्रतिक्रिया दिनुहोस्