
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा निर्वाचित मेयर कृष्णहरी महर्जनले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
मेयर महर्जनले शुक्रबार सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्दीहरू नेकपा(एमाले)का रामेश्वर बोहराले ७ हजार ८०८ र नेकपा (एकीकृत समाजवादी)का लवकुमार बस्नेतले १ हजार ७३२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी तारकेश्वर नगरपालिकाको उपमेयरमा १० हजार ७८६ मत सहित नेपाली कांग्रेसकै सृजना बुर्लाकोटी निर्वाचित हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्दी नेकपा(एमाले)की भवानी डोटेलले ८ हजार ६ मत र नेकपा(माओवादी केन्द्र)को धनलाल महर्जनले १ हजार ९९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै काठमाडौंकै बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्वाचित मिठाराम अधिकारीले पनि शुक्रवार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
नेकपा(एमाले)बाट निर्वाचित अधिकारीले १४ हजार २५० मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ र नेकपा (एकीकृत समाजवादी)का वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपमेयरमा पनि नेकपा(एमाले)ले जित हासिल गरेको छ । १४ हजार ३१४ मतसहित एमालेकी अनिता लामा उपमेयरमा निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दीहरू नेपाली कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२, नेकपा(एकीकृत समाजवादी)की प्रमिला सापकोटाले १ हजार ८८८ र माओवादी केन्द्रकी कमला गौतमले ८२७ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्