
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गर्नुभएको थियो ।
लगत्तै सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको हो ।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।
उहाँले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुर्नविचार गर्नुपर्ने बताउनुभयो ।
एक युवतीले केही दिन अघि सामाजिक सञ्जालमार्फत् आफूलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गर्नुभएको थियो । उहाँले सो घटनामा केही व्यक्तिहरूको संलग्नता देखाउनुभएको थियो ।
उहाँको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरू उठेका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले संसदमा पनि प्रवेश पाएको हो ।
प्रतिक्रिया दिनुहोस्