
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बजेट ल्याउने तयारी गरेको छ । शंकटोन्मुख अर्थतन्त्र रहेको अवस्थामा आगामी बजेट सरकारले कस्तो ल्याउँछ भन्ने सबैमा चासो बढ्न थालेको छ ।
विदेशी मुद्रा सञ्चितिमा कमी, उच्च व्यापार घाटा, बजारमा बैंकिङ तरलता जस्ता समस्या भोगिरहेका विभिन्न उद्योगी व्यवसायी, आम मानिसहरू आगामी आर्थिक वर्षको बजेट कस्तो आउला भनेर गम्भीर बन्न थालेका छन् ।
विगतमा जस्तै सरकारले ठूलो आकारको बजेट, ठूला योजना र लोकप्रिय बजेट ल्याउनसक्ने तर्क गरिरहेका छन् । तर, पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूले भने मुलुकको अर्थतन्त्र समस्यामा रहेकाले विगतका वर्षहरूको जस्तो सुन्दा रमाइलो लाग्ने र आवश्यकता भन्दा ठूलो आकारको बजेट ल्याउन नहुने सुझाव दिएका छन् ।
लामो समय अर्थमन्त्रालय सम्हाल्नुभएका पूर्वअर्थमन्त्री डा.रामशरण महतले विगतका सरकारले ल्याएका बजेटमा धेरै सुधार गरेर आगामी बजेट ल्याउनुपर्ने बताउनुभयो ।
विगतको सरकारले कार्यान्वजयन हुन नसक्ने ठूलो लक्ष्य राखेर बजेटसमेत आवश्यकता भन्दा ठूलो आकारमा ल्याएकाले आर्थिक संकट निम्तिएको भन्दै उहाँले वर्तमान सरकारले आवश्यकता हेरेर सामान्य आकारको बजेट ल्याउनुपर्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री डा.महतले ठूलो आकारको बजेट बनाउँदा ऋण बढ्ने र बजेट खर्च हुन नसक्ने दाबी गर्नुभयोे । उहाँले वर्तमान सरकारले बजेट मार्फत ल्याएका योजनाहरूको कार्यान्वयन क्षमता बढाउने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।
चालु आर्थिक वर्षमा अघिल्लो सरकारले साढे १६ खर्बको बजेट ल्याए पनि गएको आठ महिनामा ७ खर्ब भन्दा बढी ५० प्रतिशत पनि बजेट खर्च हुन नसकेको डा.महतले स्मरण गराउनुभयो ।
डा. महतले अबको बजेट बनाउँदा सरकारले बजेट पुनःस्थापना गरेर बजेट ल्याउन सुझाव दिनुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युत् उत्पादन, जलविद्युत्को विकास र पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
पूर्वअर्थमन्त्री डा. महतले नेपालको अर्थतन्त्र सुधारका लागि आगामी बजेटमा दिगो आर्थिक विकासमा जोड दिन सुझाव दिनुभयो । उहाँले दिगो आर्थिक विकास लक्ष्य अनुसार आर्थिक वृद्धि र गरिबी निवारण समाप्त गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।
सरकारले बजेट ल्याउँदा क्षणिक फाइदा भन्दा पनि दिगो आर्थिक विकासका लागि मुलुकमा नै उत्पादन वृद्धि, कृषिमा सबै भन्दा बढी लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । मुलुकको उच्च व्यापार घाटा कम गर्न कृषि उद्योगमा स्वदेशी तथा विदेशी लगानी बढाउने नीति बनाउनु पर्ने उहाँको भनाइ छ ।
डा. महतले सरकारले कृषिलाई आधुनिकरण गरेर उद्योगको रूपमा विकास गरे मात्रै मुलुकको आर्थिक वृद्धिदर, रोजगारी, आर्यआर्जनमा वृद्धि, गरिबीनिवारण र राजश्वमा वृद्धि हुनसक्ने दाबी गर्नुभयो ।
त्यस्तै वरिष्ठ अर्थविद् डा.चन्द्रमणि अधिकारीले अत्याश्वयक कार्यक्रमलाई प्राथमिकतामा राखेर नयाँ कार्यक्रम नभएको सानो आकारको बजेट ल्याउनुपर्ने बताउनुभयो । उहाँले हरेक वस्तुको मूल्य वृद्धि भएर जनताको जीवन कष्टकर रहेकाले कष्टकर जनजीवनलाई सहज बनाउने किसिमको बजेट ल्याउनुपर्ने बताउनुभयो ।
डा.अधिकारीले जनताको जनजीवनलाई सहज, विदेशी मुद्राको सञ्चिति बढाउने र बजारमा रहेको तरलता अभावको परिपूर्ति गर्ने गरी तीन कुरा प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउन सुझाव दिनुभयो ।
चुनावी सरकार भएकाले राजनीतिक दलहरूले आफ्नो अस्तित्वलाई जोगाएर लोकप्रिय बजेट नभइ फिअर बजेट ल्याउनुपर्ने अधिकारीले बताउनुभयो । उहाँले बजेटमा आवश्यकता अनुसार मात्रै खर्चको लागि बजेट विनियोजन गरेर क्षमताको आधारमा कर लगाउने गरी बजेट नीति आवश्यक भएको बताउनुभयो ।
अर्थविद् अधिकारीले आगामी बजेट विगतमा जस्तो सुन्दा रमाइलो लाग्ने तर कार्यान्वयन हुन नसक्ने कार्यक्रमले सरकारप्रति जनताको विश्वास गुम्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्