२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्थानीय तह निर्वाचन कांग्रेस र गठबन्धन दलका लागि सन्तोषजनक : प्रवक्ता महत

‘एमालेको ५ वर्षमा गरेको कामहरूको कर्तुतले काठमाडौंमा दलहरू पछि परे’

611
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन कांग्रेस र गठबन्धन दलहरूका लागि सन्तोषजनक रहेको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी र गठबन्धनमा रहेका दलहरूका लागि निर्वाचन सन्तोषजनक रहेको बताउनुभएको हो ।

उहाँले तालमेल गरेर प्रतिष्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरूले ठूलो सफलता हात पारेको दाबी गर्नुभयो । उहाँले स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको पनि बताउनुभयो ।

प्रवक्ता महतले नेकपा एमालेले निर्वाचनमा धाँदली भयो भन्ने कुरामा कुनै सत्यता नरहेकोसमेत जिकिर गर्नुभयो । एमालेकै केन्द्रीय नेताको नेतृत्वमा बाजुराको बुढीगंगा नगरपालिकामा व्यापक धाँदली भएको उहाँको आरोप छ ।

प्रवक्ता महतले धाँदली भएका २, ३, ५ र ९ वडामा एमालेले पूरै बुथ कब्जा गरेकोेले उक्त वडामा पुनः मतदान गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । उहाँले उदयपुरको त्रियुगा नगरपालिकाको एउटा वडामा पनि धाँदली भएकोले तत्काल पुनः मतदानको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रवक्ता महतले स्थानीय तह सदस्य निर्वाचनमा समग्रमा गठबन्धन दलसहितको निकै ठूलो अग्रता कायम गर्न सफल भएको स्पष्ट पार्नुभयो ।

प्रवक्ता महतले काठमाडौंमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेको ५ वर्षमा गरेको कामहरूको कर्तुत भएको जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली कांग्रेससमेत परेको दाबी गर्नुभयो ।

केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली कांग्रेस र राजनीतिक दलहरू नै नै सकिएको भन्ने मूल्याङ्कन गर्न नमिल्ने बताउनुभयो । उहाँले काठमाडौंमा राजनीतिक दलहरू स्वतन्त्र उम्मेदवारसामु निरीह बन्नु एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया भएको बताउनुभयो ।

प्रवक्ता महतले अन्तर्राष्ट्रिय स्तरमै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि स्वभाविक रूपमा मूल्यवृद्धि भएको बताउनु भयो । उहाँले सरकारले जनस्तरलाई मध्यनजर गरेर अझै अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको पूर्ण रूपमा नेपालमा मूल्य नबढाएको दाबी गर्नुभयो ।

प्रवक्ता महतले नेकपा एमालेले ९/१० वटा दलसँग गठबन्धन गरेर निर्वाचनमा एक्लै लड्यौं भनेर जनतामा भ्रम छरेको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसले स्थानीय तहमा आएको मत परिणामलाई मजबुत बनाएर आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने पनि बताउनुभयो ।

गठबन्धनलाई संघीय निर्वाचनसम्म पनि सँगै लैजाने रणनीतिअनुसार नेपाली कांग्रेस अघि बढ्ने पनि प्रवक्ता महतले बताउनुभयो । उहाँले अपवाद बाहेकका स्थानमा गठबन्धनमा रहेका दलले एक अर्कालाई सहयोग गरेको भन्दै छोटो समयमै देशले लय समातेको दाबी गर्नुभयो ।

प्रवक्ता महतले नेपाली कांग्रेस एक्लैले बहुमत ल्याउन अझै केही समय पर्खनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनका कारण प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल गरेर जाने आधार तयार पारेको बताउनुभयो ।

एमालेले आफ्नो कार्यकालमा गरेका नराम्रा कामहरूको कारण नै एमालेप्रति जनताले वितृष्णा देखाएको आरोपसमेत लगाउनुभयो ।