६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


१७ दिनसम्म मरेको बच्चालाई समुद्रमा लिएर किन हिंड्यो ह्वेल ?


0
Shares

काठमाडौं । विगत केही दिनदेखि विश्वको ध्यान खिचिरहेको एउटा किलर ह्वेलले मरेको नवजात बच्चालाई समुद्रमा लिएर हिंडेको १७ औं दिनमा अन्ततः छाडेको छ ।

त्यसक्रममा उसले १६ सय किलोमिटरको यात्रा तय गरेको वैज्ञानिकहरूले बताएका छन् ।

क्यानडाको भ्यान्कुवर टापु पारीको हारो क्षेत्रमा जे–थर्टी फाइफ नाम दिइएको उक्त ह्वेलले आफ्ना साथीहरूसँगै मिलेर सालमन माछाको ठूलो समूहलाई तीव्र गतिमा लखेटेको ह्वेल अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रले एक विज्ञप्ति जारी गरि ह्वेलको शोक यात्रा सकिएको र उसको स्वभाव निकै चञ्चल भइरहेको जनाएको छ । किलर ह्वेल डल्फिन वर्गको सबैभन्दा ठूलो प्रजाति हो ।

सामान्यतः किलर ह्वेलले मरेको बच्चालाई एक हप्तासम्म आफूसँगै लिएर भौँतारिने गर्दछ ।

तर वैज्ञानिकहरुका अनुसार यो किलर ह्वेल आमाले भने नयाँ कीर्तिमान राखेको छ ।

मृत बच्चाको शव सम्भवतः अमेरिका र क्यानडाबीच रहेको सालिस सागरमा समुद्रको पिँधमा झरेको विश्वास गरिएको छ ।

मृत बच्चालाई बोकेको त्यो ह्वेल जुलाई २४ मा पहिलो पटक देखिएको थियो ।

नवजात बच्चा त्यही दिन मरेको हुन सक्ने ठानिएको छ । ह्वेलको बच्चा मर्नुको कारण भने प्रष्ट छैन ।

क्यानडा र अमेरिका दुवैले किलर ह्वेललाई संकटापन्न समुद्री जीवको सूचीमा राखेका छन् ।(एजेन्सी)