१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरमा प्रचण्डको बलियो ‘कमब्याक’


2.275k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले निकै प्रतिष्ठाको विषय बनाएको चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धन निरन्तरताको भविष्यसँग जोडिएको ठानिने चितवनको चुनावमा रेनुले जित्दा माओवादी केन्द्रलाई राहत मिलेको छ । उता एमाले आफैँभित्र अन्तरघातको सिकार भएको चर्चा पनि चल्न थालेको छ ।

भरतपुरमा कुनै पनि हालतमा चुनाव जित्नुपर्ने दबावमा सत्ता गठबन्धन र एमाले थिए । चितवनमा आयोजित संयुक्त चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनका उम्मेदवार हारे मुलुक दुर्घटनामा जाने चेतावनी समेत दिनुभएको थियो ।

चुनाव जिते गठबन्धन अझै १०–१५ वर्षसम्म जाने भनेर कांग्रेसका कार्यकर्तालाई फकाउन पनि उहाँले छोड्नुभएन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि चितवन पुगेर मेयरकी उम्मेदवार रेनुको गुनगान गाउनुभयो ।

रेनु कतिसम्म चर्चाको विषय बन्नुभयो भने एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी दौडाहाका क्रममा अधिकांश ठाउँमा माओवादी परिवारवादमा फसेको देखाउन प्रचण्ड र रेनुको नाम लिने गर्नुहुन्थ्यो ।

एमालेलाई सुवेदीको व्यक्तित्व र कांग्रेसभित्रको घर झगडाले जितिन्छ भन्ने आश, गठबन्धनलाई आफैँभित्रबाट घात होला कि भन्ने त्रास । अन्तत सुवेदीलाई १२ हजार ४ सय ४९ मतको फराकिलो अन्तरले पराजित गर्न रेनु सफल हुनुभयो ।

मतदानको अघिल्लो दिनसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुप देख्दा धेरैले सोचेका थिए, माओवादीलाई यसपटक भरतपुरको मेयर गुमाउनुपर्छ कि भन्ने ठूलो डर छ ।

डराउनु स्वाभाविकै थियो । माओवादी केन्द्रलाई मेयर पद दिँदा गठबन्धनको मुख्य दल कांग्रेसभित्र ठूलो असन्तुष्टि थियो ।

कांग्रेसका असन्तुष्ट समूहको नेतृत्व गर्दै पुराना नेता जगन्नाथ पौडेलले मेयरमा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको थियो । उहाँको उम्मेदवारी फिर्ता लिन पूरै राज्यसत्ता भरतपुर ओर्लिएको थियो ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ भोट ल्याउँदा पनि रेनुले यति धेरै मतान्तरको जितले धेरैलाई आश्चर्यमा पारेको छ ।

अघिल्लो निर्वाचनमा १४ वटा वडामा मात्रै अग्रता लिनुभएकी दाहालले यसपटक भरतपुरका २६ वटा वडाहरूमा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पार्नुभयो ।

सुवेदीले अग्रता लिएका वडाहरूमा पनि उहाँले अघिल्लोपटक भन्दा बढी भोट ल्याउनुभयो । एमालेभित्रै अन्तरघात भएको चर्चा यति बेला भरतपुरमा चलिरहेको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १४ भिमसेननगर (हालको प्रचण्ड टोल)मा जन्मनुभएकी रेनु दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव पनि हुनुहुन्छ । उनी २०६४ जेठ १५ देखि २०६९ वैशाख ९ सम्म संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

दाहालले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य, पार्टीको रोल्पा जिल्लाको सह–इन्चार्ज, काठमाडौं सेक्रेटरी, अखिल भारत नेपाली महिला संगठनको अध्यक्ष भएर पनि काम गर्नुभएको थियो ।

दाहालले आफूले सुरूमा अघि सारेका योजना सम्पन्न गर्ने र नयाँ योजना अघि बढाएर भरतपुरलाई आधुनिक सहरका रूपमा विकास गर्ने भन्दै दोस्रोपटक मेयरका लागि भोट माग्नुभएको थियो ।