स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्छः माधव नेपाल (अन्तर्वार्ता)

news
Picture: Web

काठमाडौं, बैशाख २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्ने भन्दै कार्वाहीको माग गरेका छन् ।

ईमेज च्यानल टेलिभिजनसँग मंगलबार कुरा गर्दै पूर्वधानमन्त्रीसमेत रहेका नेपालले स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्टाचार गर्नेलाई बिना मोलाहिजा कार्वाही गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

सञ्चारमाध्यममा भ्रष्टाचार भएको बारेमा त्यत्रा विषय आएकाले खोजबिन गरेर सत्यतथ्य पत्ता लगाउन र बदमासीको ठहर गरी कार्वाही गर्न माग गर्दै नेता नेपालले कार्वाही नगरी संरक्षण गर्न खोजिए प्रधानमन्त्रीतर्फ नै प्रश्न खडा हुने चेतावनी दिए ।

यत्रा भ्रष्टाचारकाण्डको जिम्मा कसले लिने ? नेकपा पार्टीले कि सरकारले भन्ने प्रश्नको जवाफ दिँदै नेता नेपालले भने, ‘कुनै मोलाहिजा र कुनै संरक्षण नगरीकन कार्वाही गर्नुपर्दछ । संरक्षण गर्न थाल्नुभयो भने तपाईमाथि नै प्रश्न खडा हुन्छ ।’

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको कुरा मात्र आएको नभई बजार मूल्यभन्दा कयौं गुणा बढी मोल तिरेर सामान ल्याएको र त्यो पनि गुणस्तर नै नभएको विषयमा तत्काल छानबीन गरिनुपर्ने उनको भनाइ छ ।

नेता नेपालले भने, ‘जनताले एक एक पैसा जम्मा गरेर, सहयोग गर्ने दाताहरुले दिइरहेका छन् । तलब काटी काटी दिएका छन् । खर्च बचाएर दिइरहेका छन् । एक एक पैसाको ठूलो महत्व हुन्छ । यस्तो बेलामा कुनै व्यापारीले पनि ठग्ने काम नगर्नुहोस् । जनतालाई यस्तो दुःख दिने, सताउने काम नगर्नु होला ?’

सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेता नेपालले यस्तो बेला नाजायज काम गर्नेहरु सल्बलाउन सक्ने र राम्रो काम गरे मात्र जनताको समर्थन पाउने भएकाले गुनासा नआउने गरी काम गर्न सुझाव दिए ।

नेता नेपालले अगाडि थपे, ‘नराम्रो काम गरे समर्थन गुम्छ । भ्रष्टाचारजन्य कामहरु नहोस् । यसबारेमा कम्प्लेनहरु आएका छन् । भाउ बढाएको, कुहिएको सामान दिएको, थोरै सामान दिँ हुनेमा पनि नगरेका कुरा आएको छ । मिठो बोली प्रयोग नगरेको गुनासाहरु आएका छन् ।’

पार्टीको बैठकमा पनि सरकारले गरेका कामको कमीकमजोरीबारे छलफल भएको जानकारी दिँदै उनले गल्ती गर्नेलाई कुनै बहानामा नछाड्न र अनुचित काम गर्नेलाई दण्ड सजायँ दिन भनेको बताए ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको सर्वदलीय संयन्त्र र प्रधानमन्त्रीले उक्त सयन्त्र अस्वीकार गरेका सन्दर्भमा उनले संयन्त्र बनाए पनि नबनाए पनि प्रमुख प्रतिपक्षीसहित सबैको सहयोग लिन सरकारलाई सुझाव दिए ।

उनले नेताहरुले उठाएका विषय र सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै त्यसलाई नकारात्मक रुपमा नलिन, आक्रोशित नहुन र गिल्ला नगर्न आग्रह गरे ।

प्रस्तुत छ, ईमेज च्यानल टेलिभिजनका लागि सुरेश शर्माले नेता नेपालसँग लिएको अन्तर्वार्ताको मुख्य अंशहरुः

प्रश्नः दिनहरु कसरी बितिरहेको छ ?

नेपालः पुस्तक, कागजपत्र मिलाउने, नेपालको अर्थतन्त्र, आर्थिक विकासका चुनौति के ? समाधान के हुनसक्छ भन्नेबारे चिन्तन गर्ने खालका पुस्तक अध्ययन गर्न लागिरहेको छु । यो कोरोनाबाट सबैतिर आक्रान्त छ । यो मानव जातिकै लागि संकट बनेर आएको छ । संयमताका साथ, सावधानी अपनाएर, बन्दोबस्त गरेर सामना गर्नुपर्ने जरुरी छ । उपचार, खानपिनको प्रबन्ध गरेर सामना गर्नुपर्ने हुन्छ । यो समयमा मानिसहरुले पढ्न, रचना गर्न, खेतिपातीको काम गर्ने, परिवारसँग बसेर बिताउने सक्नेछन् । यसबारे धेरै चिन्ता नलिन आग्रह गर्दछु । हिक्मत, साहस, सावधानीका साथ सामना गर्नुपर्ने हुन्छ ।

प्रश्नः सरकारले गरेको राम्रा र नराम्रा काम के के छन् ?

नेपालः सरकारका कमिकमजोरी केलाउने समय होइन यो । आत्मचिन्तन गर्ने समय हो । अरु दलले बनाएका सरकारको, नेकपाकै नेताहरुको नेतृत्वमा बनेका सरकारका अलग अलग अनुभवहरु छन् । त्यसलाई प्रयोग गर्न सक्नुपर्दछ ।

प्रश्नः प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ ?

नेपालः दिएको छैन । अध्ययन गरिरहेको छु । चीन, कोरिया, भारत, लगायतको अनुभव अध्ययन गर्दैछु । अरुको दोषमात्रै खोज्नेभन्दा पनि राम्रा र समाधानको पक्ष पनि खोज्नु पर्दछ ।

प्रश्नः अध्ययन कहिले सकिन्छ, सुझाव कहिले दिनुहुन्छ ?

नेपालः सुझाव दिन होइन अध्ययनका लागि मात्रै हो । अध्ययनको निचोड लेख, भाषण, पुस्तक, गोष्ठीहरुमा आउँछ । विभिन्न कार्यक्रममा भाग लिएको विषयहरुलाई पनि समेट्दै छु ।

प्रश्नः यस्तो बेलामा सरकारलाई सुझाव दिनुपर्ला नि ?

नेपालः सुझाव दिन सकिन्छ । सुझाव चाहे न दिने हो । नखोजेको सुझाव दिनुको कुनै अर्थ छैन ।

प्रश्नः त्यसो भए प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुमधुर छैन कि क्या हो ?

नेपालः कसले भन्यो सुमधुर छैन भनेर ? कतिको अरुले मागोस् नमागोस् सल्लाह दिने चलन स्वभाव हुन्छ । अरु देशले पनि सल्लाहकारको पगरी भिरेर सल्लाह दिन खोज्छन् । तर यस्ता सल्लाह कतिलाई सहज नलाग्न सक्छ । ओली त्यस्तो हुनुहुन्छ भन्न खोजेको होइन । पहिले आफू प्रष्ट हुनुपर्यो, सबैको राय सुझावलाई अवधारणा बनाएर, निष्कर्षमा पुग्नु पर्यो । अरुलाई पनि सहमत गर्न सके, प्रधानमन्त्री, सरकारका मानिसहरुलाई राम्रो लाग्यो भने न ठीक हो । तब न राम्रो हुन्छ । देशको जनताका लागि राम्रो हुन्छ ।

प्रश्नः तपाईको सुझावले त यो महामारीबाट पार पाउन सजिलो हुन्थ्यो होला नि त ?

नेपालः सुझाव दिइरहेको छु । प्रदेश, स्थानीय तहसम्म राहत दिनेबारेमा, तथ्यांक बनाएर दिने भन्नेबारेमा सुझाव दिइएको थियो ।

प्रश्नः अनि सुझावको सुनुवाई भयो त ?

नेपालः सुनुवाई भएको पनि छ । सकारात्मक रुपमा लिएसम्म दिने हो । भन्ने हो । कस्ता सुझाव दिइयो, के कुरा भए ? दुई पक्षबीचका कुराहरु भन्दै हिड्ने मानिस होइन म । तीतो कुरा खोतल्न लागेको होला । मेरो मुखबाट तीतो कुरा आउँदैन । अपेक्षा नगर्नु ।

प्रश्नः दुई कार्यकारीबीचमा तपाईं त मध्यमार्गीको भूमिकामा हुनुहुन्छ नि ? कसरी निभाइरहनु भएको छ ?

नेपालः सबैको भूमिका आवश्यक छ । सबैको योगदानबाट पार्टी आन्दोलन यहाँसम्म पुगेको हो । समस्याको पहिचान र समाधानको उपाय खोज्ने पनि सामूकि रुपमै हो ।

प्रश्नः पार्टी र सरकारले संयुक्त रुपमा काम गरेको छ कि ? अलग अलग हिंडेको छ ?

नेपालः यो अवस्था अरु बेलाभन्दा फरक हो । सामाजिक दूरी कायम गर्न खोजिरहेका छौं । यस्तो अवस्थामा पार्टीका सबै निकाय परिचालन सम्भव हुँदैन । स्थानीय जनप्रतिनिधिहरुलाई नै परिचालन गर्ने हो । समाजसेवी, सहयोगीहरुको सानो टीम बनाएर परिचालन गर्नुपर्दछ । मुख्य भूमिका सरकारको हुन्छ ।

प्रश्नः सरकारले तपाईले भनेअनुसार नै काम गरेको छ त ?

नेपालः म काठमाडौं २ बाट निर्वाचित हुँ । रौतहटको भएकोले त्यहाँ कसरी काम भइरहेको छ भन्नेमा बुझिरहेको छु । यस्तो बेला नाजायज काम गर्नेहरु सल्बलाउन सक्छन् । राम्रो काम गर्यो भने मात्र जनताको समर्थन पाउँछौं । नराम्रो काम गरे समर्थन गुम्छ । भ्रष्टाचारजन्य कामहरु नहोस् । यस्ताबारेमा कम्प्लेनहरु आएका छन् । भाउ बढाएको, कुहिएको सामान दिएको, थोरै सामान दिए हुनेमा पनि नगरेका कुरा आएको, मिठो बोली प्रयोग नगरेको गुनासाहरु आएका छन् ।

प्रश्नः अहिले भ्रष्टाचार भइरहेको कुरा तपाईले पनि सुनिरहनु त भएको छ नि ? साँच्चै के भइरहेको छ ? 

नेपालः होइन त्यत्रा कुराहरु आइरहेका छन् । कयौं गुणा बढी मोल तिरेर सामान ल्याएको, गुणस्तर नै नभएको सामान ल्याएको कुरा मिडियामा आइरहेका छन् । छानबीनको विषय हो नै । जनताले एक एक पैसा जम्मा गरेर, सहयोग गर्ने दाताहरुले दिइरहेका छन् । तलब काटी काटी दिएका छन् । खर्च बचाएर दिइरहेका छन् । एक एक पैसाको ठूलो महत्व हुन्छ । यस्तो बेलामा कुनै व्यापारीले पनि ठग्ने काम नगर्नुहोस् । जनतालाई यस्तो दुःख दिने, सताउने काम नगर्नु होला ?

प्रश्नः भ्रष्टाचार भइरहेको विषयको जिम्मा कसले लिने ? नेकपा पार्टीले लिने कि सरकारले ?

नेपालः जहाँबाट भएको छ खोजबीन पहिले गर्नु पर्यो । सत्यतथ्य के हो पत्ता लगाउनु पर्यो । बदमासी भएको छ भने ठहर गरी कार्वाही गर्नुपर्यो । कुनै मोलाहिजा नगरिकन । कुनै संरक्षण नगरिकन । कसैगरी संरक्षण गर्न थाल्नुभयो भने तपाई माथि नै प्रश्न खडा हुन्छ ।

प्रश्नः प्रधानमन्त्रीले त संरक्षण गर्ने कुरा गर्नु भयो क्यारे नि ? संबोधनका क्रममा ।

नेपालः उक्त सम्बोधन मैले सुन्न पाएको छैन ।

प्रश्नः तपाईको बैठकमा यसबारे छलफल हुन्न ? सर्वदलीय बैठकमा छलफल हुन्न ? पटक पटक भइरहेको छ क्या रे ?

नेपालः अँ एक पटक उपप्रधानमन्त्रीको अध्यक्षतामै यस्तो बैठक भएको थियो । कोरोना भाइरस सम्बन्धि संकटलाई कसरी सम्बोधन गर्नेभन्नेबारेमा ।

प्रश्नः पार्टीकै बैठक पनि त बसेको थियो क्यारे नि ?

नेपालः हाम्रो बैठकमा पनि विभिन्न विषयमा आफ्ना कुरा राखेका छौ । भ्रष्टाचारको कुरा होस् वा व्यक्तिको गोपनीयताको कुरा होस् । राम्रो छानबीन गर्नुपर्दछ । अनुचित काम गर्नेलाई दण्ड सजायँ दिनै पर्दछ भनेका छौं ।

प्रश्नः के भन्नुभयो त, प्रधानमन्त्रीले यो विषयमा ?

नेपालः प्रधानमन्त्रीले के भन्नुभयो भन्नेमा नजाऔं । विषयहरु गम्भीरताका साथ उठेको छ । बैठकमा उठेका विषयमा अवश्य पनि कार्वाही हुनेछ ।

प्रश्नः प्रचण्डले सर्वदलीय संयन्त्र गठन गर्ने प्रस्ताव गरेकोमा तपाईंको धारणा के ?

नेपालः उप्रधानमन्त्रीले पनि सुझाव लिएकै होलान् । प्रमुख प्रतिपक्षीसँग प्रधानमन्त्रीले लिनुभएको छ छैन । तर लिनुपर्दछ । संयन्त्र बनाए पनि नबनाए पनि सबैको सहयोग लिनुपर्दछ । त्यसले नै राष्ट्रिय क्षमता र शक्ति बलियो हुन्छ । सहयोग लिने विषयमा एक हुनुपर्दछ ।

प्रश्नः त्यसो भए यो विषयमा तपाई र प्रचण्डको मत मिलेको बुझौं ?

नेपालः हैन, सबैको कुरा मिलेकै छ नि । यो सानो कुरामा प्रचण्डले एकातिर सोच्नुभयो भन्ने अनि केपी ओलीले अर्कोतिर सोच्नुभयो भन्ने, माधव नेपालले यसको पक्ष लियो भन्ने यस्ता कुरामा नलागौं । यस्ता साना कुरामा प्रवेश गर्ने होइन । अहिले त महामारीको सामना कसरी गर्ने भन्ने हो ? हाम्रा कामका त्रुटी कहाँ छन् । कसरी सच्याउने हो ? जनतालाई कसरी सेवा दिने भन्नेमा हाम्रो ध्यान जानु पर्दछ ।

प्रश्नः प्रधानमन्त्रीले यो संयन्त्र चाहिँदैन । सरकारले जे गरिरहेको छ ठीक छ भन्नुभाथ्यो त्यही भएकाले यो प्रश्न गरेको हो ।

नेपालः यस्तोमा हामीले धेरै बोल्ने होइन । बसेर छलफल गर्नुपर्दछ । पार्टीका कुनै नेताले कुनै कुरा उठाउनु हुन्छ भने त्यसलाई नकारात्मक रुपमा लिनु जरुरी छैन । त्यसबाट आक्रोशित हुनुपर्ने कुनै आवश्यकता छैन । गिल्ला गर्नुपर्ने आवश्यकता छैन । बरु बोलाएर उनको तर्क सुन्ने । तथ्य र तर्क सुन्नु पर्यो । प्रमाण प्रस्तुत गर्ने । चित्त बुझाउनु पर्दछ । नबुझाउने कुरा हुन्छ र ?

प्रश्नः प्रचण्डले प्रधानमन्त्रीसँग खुलेर कुरा गर्न चाहन्छु, भन्नुभाथ्यो । उहाँहरुबीच खुलेर कुरा हुन नसकेको देखिन्थ्यो । तपाईको कुनै भूमिका हुन्छ कि दुई नेताकाबीचमा कुरा गराउन ?

नेपालः अहिलेको अवस्था विशेष अवस्था हो । सहज ढंगले भेट्न सक्ने अवस्था छैन । डरमर्दो छ । प्रत्येक व्यक्तिले आफ्नो ठाउँमा सतर्कता जनाउनु जरुरी छ । हामी जस्ता मान्छेहरु जो ६० नाघिसकेको छ, उमेर भएका मानिसले झन् सतर्क रहनु पर्दछ । यस्तो समयमा पर्याप्त समय दिएर छलफल गर्ने काम गर्न सकिँदैन । फोनबाट गर्ने । भेटघाट ज्यादा गर्न सकिँदेन । यस्ता कुरामा बढी समय बिताउने कि कार्यान्वयन गर्नेतर्फ जाने हो ? डेलिभरीमा ध्यान दिने हो ?

प्रश्नः यो छलफलले त डेलिभरीलाई नै सहयोग पुर्याउँदथ्यो होला नि ?

नेपालः पुर्याउँदछ । छलफल बहसले कुनै घाटा लगाउँदैन । त्यो छलफल बहसका बारेमा सबैमा आश्यकता महशूस हुनुपर्यो ।

प्रश्नः यस्तोमा तपाईको भूमिका ठूलो हुन्छ नि ?

नेपालः यस्तो बेलामा त्यस्तो सहयोग कमै हुन्छ । कोरोनाको संक्रमण हुन नदिनका लागि नै बढी ध्यान  दिनुपर्ने भएकाले उहाँहरुको समय धेरै लिनुहुन्न । मेरो मात्रै होइन । सबै नेताको भूमिका ठूलो छ नि । हामी नेताहरुको भूमिका नभएर अरुबाट आशा हुने कुरा त भएन नि । विश्वास र समझदारी हुनुपर्दछ । विधि पद्धति प्रक्रियामा जोड दिऔ । विश्वासलाई दरिलो बनाऔं । सुझाव सल्लाह ग्रहण गरौं । अरुका कुरा पनि सुनौं । पारदर्शी रुपमा काम गर्नुपर्यो । अपारदर्शी काम नहोस् । एक्लैले काम गर्यो भने शंका हुन्छ । दालमाथि कालो छ भनेर । दायरा कति गर्न सकिन्छ भन्ने बनाऔं । कामको जिम्मा सानो सानो कमिटीलाई दिउ ।

प्रश्नः तपाईलाई कुनै भूमिका दिइएको छ त ?

नेपालः हाम्रो भूमिका त छँदै छ नि ।

प्रश्नः तोकिएरै कुनै भूमिका तपाईलाई दिइएको छ ?

नेपालः तोकिएर त दिएको छैन । सांसदका रुपमा हाम्रा जिम्मेवारी । पार्टी नेताको रुपमा जिम्मेवारी छ । मानव भएर हुने भूमिका पनि होला ।

प्रश्नः प्रचण्डलाई कुनै भूमिका दिइएको छ ?

नेपालः उहाँलाई पनि यस्तै होला ?

प्रश्नः यो महामारीका सन्दर्भमा सरकार र दललाई के सुझाव दिनुहुन्छ ?

नेपालः दलहरुलाई आफ्नो पार्टी कार्यकर्ताहरुलाई त्यहाँको स्थानीय निकायसँग समन्वय गरेर सेवा कार्यमा काम गर्न आग्रह गर्दछु । उपचार नपाएका, संक्रमण भएकाहरुको, चेतना जगाउने, राहत दिने विषयमा सबेको ध्यान जाओस् । अस्पतालको विषय, क्वारेन्टाइनमा रहेकाहरुको उपचार, नियमित विरामीलाई उपचारको सन्दर्भ छ । सुत्केरी महिला, बालबालिकाको, विपन्नका समस्याको प्रबन्ध गर्ने हो कि त्यसमा पार्टी नेता, कार्यकर्ताले ध्यान दिनुपर्दछ ।

प्रश्नः सरकारलाई के सुझाव छ ?

नेपालः सरकारले त सबैकाम गर्न पर्यो । सरकारी च्यानलबाट काम गर्नुको साथसाथै गैरसरकारी, राजनीतिक च्यानलहरुको पनि प्रयोग गर्नुपर्दछ । ब्यूरोक्रेटिक च्यानल मात्र होइन, अरु च्यानल पनि हुन्छन्, सोसल च्यानल हुन्छन्, मिडियालगायतमा ध्यान जानु पर्यो । सूचना लिन पर्यो । ल्याप्सेस, कमजोरी छ भने सच्याउनुपर्यो, कामलाई अझै प्रभावकारी बनाउनुपर्यो ।

प्रश्नः सेनालाई भूमिका दिन खोजिएको बारेमा नि ?

नेपालः सेनालाई व्यापारीक भूमिका दिने कुरा उचित होइन । सरकारले नै जीटूजी वा अरु कुनै माध्यमबाट सामान ल्याउनु पर्यो । तर यस्तो बेला सेनाको सहयोग लिनै पर्दछ । सेना, सशस्त्र, प्रहरीको अस्पताल पनि छ, त्यसको माध्यमबाट, सुरक्षाको माध्यमबाट सहयोग लिने हो । तर उनीहरुलाई सीमित दायरामा राख्नु पर्दछ ।

प्रश्नः स्वास्थ्य सामग्री खरिदका लागि सेनालाई जिम्मा दिँदा नागरिक प्रशासन कमजोर भएको जस्तो लाग्दैन ?

नेपालः यसरी दिएकामा मलाई उपयुक्त लागेको छैन । प्रधानमन्त्रीसँग कुरा गर्दा जीटूजीबाट गर्ने हो । चीनसँग कुरा गरिरहेका छौं । अरु देशसँग पनि गरिरहेका छौं भन्नुभयो । सेनालाई नै सबै कुराहरु दिएको जस्तो लागेन । तर फेरि अनेक कुरा आएका छन् । अलिक कन्फ्यूजिङ कुराहरु पनि छन् ।

प्रश्नः सरकारले गरेको भ्रष्टाचारलाई लुकाउन सेनालाई दिइएको भन्ने पनि छ नि त ?

नेपालः अस्ती भएका भ्रष्टाचारलाई ढाकछोप गर्न त्यही व्यक्तिहरुलाई सघाउन अर्को बाटो अपनाउन खोजिएको भन्ने आशंकाहरु आएका छन् । यी सबै कुरालाई निवारण हुने गरी काम गर्नुपर्दछ ।

प्रश्नः सरकारले परराष्ट्र मामलामा खेलेको भूमिका कस्तो लागेको छ ?

नेपालः परराष्ट्र, रक्षामन्त्रालय सम्हालेर काम गरिसकेकाले मलाई यि दुबैको विषयमा राम्रो जानकारी छ । अहिले सरकारले भारत, चीनबाट आश्वासन, प्रतिवद्धता पाउनु राम्रो कुरा हो । लागिरहनु पर्दछ । राजदूतहरुलाई प्रयोग गर्नुपर्यो । सामग्री छिटो ल्याउनु पर्दछ । दुई पक्षकाबीचमा कुरा गरेर टुंग्याउनु पर्दछ ।

प्रश्नः सरकारको चीन र भारतप्रतिको भूमिका सन्तुलित छ ? 

नेपालः प्रधानमन्त्री आफैले मोदीजीसँग कुराकानी गर्नुभएको छ । अरु देशका नेताहरुसँग पनि कुरा गर्नुभएको छ । विभिन्न माधयमबाट विचार आदानप्रदान भएका होलान् । नेपालीहरु जुन देशमा बसिरहेका छन् । उनीहरुलाई त्यही देशमा सुरक्षित कसरी राख्ने ? संक्रमित छ भने उसको उपचार कसरी गर्ने ? खानपिनको बन्दोबस्त कसरी गर्ने नेपालीका बारेमा चासो राख्नुपर्दछ । प्रयत्न गरिहेको छ । कमजोरी भए सुधाररेर अगाडी जानु पर्दछ ।

प्रश्नः अबको अर्थतन्त्र कस्तो देख्नु भएको छ ? अब कसरी जानपर्दछ ?

नेपालः अहिलेसम्मको बाटो पूरै छाड्ने भन्ने बहस चलेको छ । तर मलाई त्यस्तो लाग्दैन । संकीर्ण राष्ट्रवादतर्फ बढ्ने छ भन्ने छ । अर्को कोणबाट मानव जाति सामु ठूलो समस्या बनेकाले मिलेरै समाधान खोज्नुपर्दछ भन्ने पनि छ । यस्ता समस्याहरुको मिलेर जानुको विकल्प छैन । 

हेर्नुस् भिडियो अन्तर्वार्ताः

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...