
एजेन्सी । दक्षिण सुडानमा भेडाको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि भेडालाई जेल सजाय तोकिएको छ ।
यो घटना दक्षिणी सुडानको रुम्बेक पूर्वी काउन्टीमा भएको हो । भेडाको आक्रमणबाट ४० वर्षीया ती महिलाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एडु च्यापिङ नामकी ती महिलाको भेडाले हानेर मृत्यु भएपछि भेडालाई पक्राउ गरेर जेल सजाय तोकिएको हो । भेडालाई पक्राउ गरेपछि मुद्दा अदालतसम्म पुगेको र भेडालाई ३ वर्षको जेल सजाय सुनाइएको हो । सञ्चार माध्यमका अनुसार भेडाले ती महिलालाई लगातार उनको शरीरमा हानीरह्यो । जसका कारण महिलाको करङका साथै शरीरका अन्य हड्डीहरू पनि भाँचिए । यसरी भेडाको आक्रमणमा परेर गम्भीर घाइते भएकी ती महिलाको मृत्यु भयो ।
महिलाको मृत्यु पछि त्यो भेडालाई लेक्स राज्यको एडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा ३ बर्षसम्म बन्द गरेर राख्न अदालतले अनुमति दिएको छ । यस विषयमा जानकारी दिँदै लेक्स राज्य प्रहरी प्रवक्ता माबोर मकुआकोले भने – ‘प्रहरीको हैसियतले हाम्रो भूमिका सुरक्षा प्रदान गर्नु हो । भेडालाई अहिले मलन होक्की पयम प्रहरी चौकीमा राखिएको छ । भेडाका मालिक निर्दोष छन्, यो अपराधको लागि भेडा आफंै जिम्मेवार छ । त्यसकारण भेडालाई पक्राउ गर्नुपरेको हो ।’
तर, भेडाको आक्रमणले महिलाको मृत्यु भएपछि भेडा मालिकले पनि सजाय पाएका छन् । भेडाका मालिकले मृतक महिलाको परिवारलाई ५ वटा गाई जरिवाना स्वरुप दिनुपर्ने छ । दक्षिण सुडानमा यसलाई रगतको क्षतिपूर्ति भनिन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेलबाट भेडा छुटेपछि पीडित परिवारलाई भेडा दिइने छ । किनकि लेक्स राज्यको कानुन अनुसार यदि जनावरले कसैको हत्या गरेमा पीडित परिवारलाई उक्त जनावर क्षतिपूर्तिको रुपमा दिइन्छ ।
प्रतिक्रिया दिनुहोस्