
काठमाडौं । युक्रेन युद्धमा फसेको रुसले सेनामा भर्ति हुने माथिल्लो उमेर हद खारेज गरेको छ ।
त्यहाँको संसदका दुवै सदनले एउटा विधेयक पारित गर्दै सेनामा भर्ति हुनका लागि यसअघि विद्यमान रुसी नागरिकका लागि १८ देखि ४० र विदेशी नागरिकका लागि १८ देखि ३० को उमेर हद हटाएको हो ।
युक्रेन युद्धका लागि थप सैनिक भर्ति गर्ने उद्देश्यले नयाँ कानुन बनाइएको अनुमान गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेपछि उक्त विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।
गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि सुरु भएको लडाईमा आफ्ना एक हजार बढी सैनिक मारिएको रुसको भनाइ छ ।
युक्रेनको निरस्त्रीकरण तथा नाजीवाद अन्त्य नभएसम्म सैन्य कारबाही जारी रहने पनि रुसको अडान छ । त्यसका लागि सेनालाई थप बलियो बनाउनु पर्ने भन्दै रुसी रक्षा मन्त्रालयले सेनामा भर्ति हुने माथिल्लो उमेर हद हटाउने प्रस्ताव गरेको थियो ।
रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा सैन्य कारबाही कतिन्जेल जारी रहन्छ भन्ने टुंगो नभएको बताउनुभएको छ ।
उता, रुसले केही महिना अघि गाभेका युक्रेनका खर्सोन र जापोरिझियामा द्रूत गतिमा रुसी नागरिकता र पासपोर्ट वितरण गर्ने सम्बन्धि आदेशमा पनि राष्ट्रपति पुटिनले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्