
बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । ‘अबको निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले नै तोक्नेछ’ आयोगका एक अधिकारीले भने ।
नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद थियो । २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीय मतदाताको भनाइ छ ।
२, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरूले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरूले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए ।
बुढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो ।
सुरुमा सदरमुकाम मार्तडी आएर उहाँले सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुखहरू, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझ्ने काम गर्नुभएको थियो ।
दोस्रो दिन बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुग्नुभएको थियो । उहाँले बुझाएको प्रतिवेदनको आधारमा आयोगले पुनः मतदान गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्