
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सर्वोच्चले यो निर्णय कुन आधारमा टेकेर गरेको हो भन्दै प्रश्न गर्नुभयो । उहाँले अदालतले रुख फाँड्ने विषय, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने भन्दै निर्णय कसैको प्रभावमा आएर गरेकोे आरोप लगाउनुभयो ।
मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाउनुभयो । उहाँले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गर्नुभयो । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुन नसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताउनुभयो ।
उहाँले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्ने भन्दै व्यंग्य गर्नुभयो ।
मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गर्नुभयो । उहाँले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंवासीहरुले नै त्यहाँको जग्गा किनेर स्थानीयहरुलाई उचालेको आरोप लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्