८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रिय रन्जु, तिमी कहाँ हरायौ ?


286
Shares

प्रिय रन्जु ,

नित्य स्मृति 

 रन्जु मार्फत विवेकशील नेपालीलाई जनजनको जिज्ञासा, खुल्दुली र प्रश्नहरु सोध्न चाहन्छु । जनअपेक्षालाई धुलिसाथ पारेको निर्मम आरोप पनि लगाउन सक्छु । सुसभ्य, सुसंस्कृति राजनीति हेर्ने नेपाली जनताको सपनाको हत्या भएको हो या बन्ध्याकरण त्यो पनि उत्तर अपेक्षित छ । सिर्जनात्मक र रचनात्मक बिरोध गर्ने नुतन र आकर्षक शैली अहिले कुन चरणको यात्रामा छ कि उज्जवल थापाको थकान सँगै थकित र गलित छ ? राजनीतिक दल बन्न र परिपक्व देखिन वर्षौ वर्षको घाम-पानी, भोक-तिर्खा, जाडो-गर्मी, असिना-झरी, हिउँ-तुषारो, हावा-हुरी खप्नु सहनु र पचाउनु पर्छ ।

फूटसंगै यो सुस्तायो, ओइलायो या मुर्झायो ? छोटो यात्रामा नै बेचैन बन्यो ?धेरैको चासो हो । विवेकशीलप्रति आम मान्छेको चासो र बौद्धिक वर्गको अपेक्षा कति थियो भन्ने कुरा यसको निर्माण देखि, जुट र फूटसम्म मान्छेहरुले देखाएको उत्सुकता, गरेको आलोचना र वर्षेको निन्दाले पुष्टी गर्छ । मिडियाले दिएको कभरेज अनि फुटपछि आएको व्यापक प्रतिक्रियाले यो पार्टीप्रति अरुको चासो र अभिलाषाको मापन गर्छ । आम मान्छेहरुको बिरोध पाउनु पनि पार्टीप्रतिको ध्यानाकर्षण हो । अरुले गरिदिने विज्ञापन हो । सित्तैमा पाएको विज्ञापनको फाइदा यो पार्टीले कति ग्रहण गर्न सक्यो ? आम मान्छेहरुको अपेक्षा र उत्सुकतालाई मध्यनजर गर्दै मैले मेरो आर्टिकलको शीर्षक नै ‘निर्लज्ज बेसरम र निर्विवेकीहरुलाई चुनौती विवेकशील नेपाली’ भनेर राखेको थिए एकपटक ।

विवेकशील पार्टी जन्मनुको औचित्य र उदेश्य खोलेको थिए जतिबेला नेपालमा क्रियाशील सारा दलहरुमा विवेक हराएको थियो, सरम स्वयं लजाएको थियो यस्तोबेला विवेकशील नाम राखेर दल खोलिनु र अनौठा र सबैको आँखा लाग्ने गतिबिधिले यो दलप्रति जनताले आशा लाग्दो नजर र लोभ लाग्दो भविष्यको कल्पना गरेका हुन् । जसको प्रतिफल काठमाडौँ महानगरको मेयरमा रन्जु दर्शनलाई स्वीकार गरेर २१ वर्षे युवतीमा २३ हजार भन्दा बढी मतदाताले आफ्नो अभिभावक जनप्रतिनिधिको रुपमा विश्वास गरे । २१ वर्षे तरुनीको जित पदीय जिम्वेवारीमा बन्चित भए पनि राजनीति जित्न राजनीतिमा नयाँ मूल्य स्थापित गर्न काफी थियो ।

विवेकशील दलको अर्ग्यानिक उत्पादन भएको कारण नै काठमाडौं त्यत्रो जनमतले कलिली केटीलाई आफ्नो वारेस दिन सक्यो । यदि रन्जुको बदला अरु कुनै रिटायर्ड र टायार्ड व्यक्ति, काठमाडौँको रैथाने नेवार या अरु कुनै भुतपुर्व विज्ञ विवेकशीलको उमेद्वार बनेको भए रंजुले झैँ भोट पाउने क्षिण हुन्थ्यो ।  किनकी जनता राजनीतिमा अर्ग्यानिक टेस्ट लिन चाहन्थे । नवीन प्रयोग हेर्न रुचाउँथे ।  त्यसैले विवेकशिल दलको तत्कालिन निर्णय विवेकसम्मत र अर्ग्यानिक राजनीतिको उदाहरण थियो । जनताले सो निर्णयलाई अनुमोदन गरेर विकृत राजनीतिमा सुसंस्कृत र विवेकी राजनीतिको खोजीलाई उत्प्रेरणा भरेका हुन्  । हिलो मैलो लागेको राजनीतिमा धुमिल आकाशमा रन्जु मार्फत बिम्बित मतले राजनीतिको परिदृश्यमा आशाको संचार गरेको हो । राजनीतिमा नयाँ आयाम र बृहत सम्भावनाको ढोकाबाट भोलिको उज्यालो नियालेको हो । राजनीतिको हिलो सोहोर्ने, धुलो कसंगिर बढारेर सफा राजनीति गर्ने चाहनालाई मुर्तरुप दिने पूर्वसंकेत र पूर्वाभ्यास थियो जनताको फैसला । तर आज जुन ढंग र तयारीका साथ राजनीतिक रंगमंचमा विवेकशील देखिनुपर्ने हो त्यो नदेखिएको धेरैको गुनासो छ । आलोचना छ । सुझाबको पोको छ । जुन मैंले फोरिदिने रहर गरेको छु ।

प्रिय रन्जु,

कतै रन्जुलाई कम उमेरमा नै गहन जिम्वेवारीको भारी त बोकाइएन ? राजनीतिमा रन्जु भन्दा धेरै भोटो फटाएकाहरु आजपनि अरु स्थापित र पुराना दलहरुको विद्यार्थी संगठनको राजनीतिमा नै छन । क्याम्पसमा स्ववियुको टिकट लिन नै प्रतिस्पर्धा गर्छन । रन्जु त्यस्ती भाग्यमानी पात्र हौ जसले यति सानो उमेर मै काठमाडौँको मेयरको उमेदवारी पाएर पुराना दलको वर्चस्वलाई फेरबदल गर्ने हैसियत देखायौ । तिमीले जित्नेलाई हार्ने र हार्नेलाई जित्ने मौका दियौ । जुन कुरा दलहरुले कल्पना समेत गरेका थिएनन । फुच्चे दलकी फुच्ची भनेर अन्डरस्टिमेट गरेका थिए । बहकिने राजनीति नबुझेका अल्लारेको दुई चार हजार मत भनेर उडाएका थिए । तर पुराना दलको नाडी छाम्दै काठमाडौँ जस्तो सहरमा राजनीति जित्यौ आफ्नो मुद्दा चिनायौ । परम्परगत शक्तिलाई निधार खुम्च्याएर सोच्न बाध्य बनायौ ।

विवेकशीलको केन्द्रिय नेता बन्ने रन्जुको आँट, मुर्खता, अवसर जे भने पनि त्यसले राजनीतिमा तरंग ल्याएको हो । क्लवको आरोप लागेको पार्टीलाई युवा ढुकढुकीको पार्टी र बौद्दिक वर्गको ध्यान एकैपटक खिच्ने सामर्थ्य देखाउनु राजनीतिमा नयाँ प्रयोग भएकै कारण सम्भव भएको हो । तसर्थ आज मेरो आलेखले रन्जुको खोजी गरेको छ । रन्जु बिम्ब बनाएर विवेकशीलका अरु हजारौं रन्जुहरुको चाह गरेको छ ।रन्जु तिमी कतै हरायौ कि यतै छौ प्रश्न गरेको छ । रन्जुहरुको जल्दोबल्दो उपस्थिति राजनीतिको रंगमञ्चमा हेर्न विस्फारित छन लोचनहरु । विवेकशीलमा छाएको शिथिलता र गतिशिलतामा चमक नदेख्दा कतै हैसियत भन्दा बढी विश्वास त भएन रन्जुलाई भन्ने जनगुनासो पनि छ । नगर पिता बन्नुपर्ने मान्छे कतै अन्यत्रै अल्झनमा परेको त होइन ? पुष्पकमल दाहाललाई ‘फुस्स कमल’ र शेरबहादुरलाई ‘श्याल बहादुर’ भनेर गरिने भाषणमा अब तात्विक भिन्नता देखिनु पर्छ । रन्जुमा परिपक्वता आउनु पर्छ ।

काठमाडौं जहाँ राजनीति सजिलो छैन त्यही आफ्नो मुद्दा जिताएकी मान्छे रन्जु चुनाव नजिते पनि जिम्वेवारिको बोझिलो भारी जनताले थाप्लोमा राखिदिएका कारण पनि देखिने हुनुपर्छ, सुनिने बन्नुपर्छ । भेटिने हुनुपर्छ । नत्र त्यत्रो जनमतप्रति  धोका हुनपुग्छ । आशंका कतै विवेकशील सामान्य कर्मकाण्डी पार्टीको रुपमा मात्रै परिणत भयो कि हिजोको स्पिरिट कायम छ ? राजनीतिमा लागेपछि जीवन मरणको सवाल पनि आउँछ । जोखिम उठाउने साहस पनि चाहिन्छ । राजनीति जोखिमहरुको जखमहरुको खेल हो ? २००७ सालमा कांग्रेसले खतरा मोलेको थियो प्रजातन्त्र प्राप्तिको लागि । हजारौं नेता कार्यकर्ता मारिए २०४६ सालसम्म । त्यसपछि मात्र कांग्रेसले सत्ता सयरमा आफ्नो प्रभुत्व कायम राखेको हो बर्षौ वर्ष । तत्कालिन माले पनि जोखिम मोलेर हजारौं नेताकार्यकर्ताको कुर्वानी गरेर देशमा प्रजातन्त्र बहाली गर्दै आफ्नो अस्तित्व राख्न सफल छ । माले एमाले बन्दासम्म थुप्रै खतरा मोल्ने साहसकै कारण स्थापित छ । त्यसैगरी तत्कालिन माओवादी पनि युद्दको मैदानमा लडेर नै आज यहाँ सम्म आइपुगेको छ । माओवादीको लडाई साहस र बलिदानको विशिष्ट इतिहास छ । भलै निर्ममता र बहादुरी दुई अलग धार हुन । उसले आफू नेपाली राजनीतिमा जम्न जोखिम मोलेको हो । त्यसैगरी अरु क्रियाशील राजनीतिक पार्टीहरुको पनि हैसियत अनुसारको बलिदानी र खतरासँग जुधेको इतिहास छ ।

अहिले राजनीतिमा व्यवस्था फेर्ने आन्दोलन गर्नु परेको छैन । व्यवस्था परिवर्तनमा प्राय सबै पार्टीहरु अब्बल विद्रोही थिए । भए र छन । तर ब्यबस्था आफैंमा केही होइन भन्ने कुरा विश्वमा प्रचलित राजनीतिक प्रणाली मार्फत शासित मुलुकहरुको दुर्गति र प्रगतिलाई हेर्न सकिन्छ । सबै सफल छन् सबै असफल । हाम्रो देशको मूल सरोकार अब व्यवस्था परिवर्तन होइन जनताको अवस्था परिवर्तन हो । अर्थतन्त्रको रुप र स्वरुपमा रुपान्तरण हो । बिद्रोही क्षमता भएका पार्टी र नेताहरुमा ब्यबस्थापकीय क्षमता अर्थात शासकीय क्षमताको अभाव कस्तो छ भन्ने कुरा दुई तिहाईको सरकार हुदाँ पनि देखिएको छ । पुराना पार्टीहरुको मस्ती मरिसक्यो अब चामत्कारिक क्षमता देखाएर सुशासनको मोडल दिन्छन भन्ने कुरामा जनता विश्वास गर्दैनन् । यिनीहरुको रंग उढीसक्यो । अनुहार उदांगो भयो कार्यशैली देखियो अत योबेला आँट जोश र धैर्य भएको शक्ति र संगठनको आवश्यकता खट्केको छ जुन कुरा यो संकटमा विवेकशीलको नेतृत्वले पनि पुर्याउन सकेन कि ।

सुन आगोमा खारिन्छ, वीरता, सौर्यता र साहस संकटमा देखिन्छ अप्ठ्यारोमा प्रकट हुन्छ । जीवन बलिदान गरेर भएपनि दुखेको घाउमा मलम लगाउछु भन्ने अठोट, संकल्प र सपना नेतृत्वमा हुनुपर्छ । प्रचण्ड, ओली र शेरबहादुरले आफ्नो ज्यानको मात्रै माया गरेको भए आज यो स्थानमा रहने अवस्था आउन मुश्किल मात्रै होइन असम्भव थियो । अब उहाँहरु सक्नु हुन्न र उहाँका पार्टी कार्यकर्तामा त्यो जोश बाँकी पनि छैन होला । यदि हुन्थ्यो भने सम्पूर्ण देशको साधन श्रोत भएको सरकार , पार्टी नेकपा र कांग्रेस जस्तो भुइँ तहसम्म संगठन भएको शक्तिले जनताको रोदन र पीडा टुलुटुलु हेरेर बस्ने थिएनन । सत्तासिनहरु, सत्ता भोग गरिसकेकाहरु अब पुरै थाकेका छन् । युद्दको मैदानमा जान सक्तैनन् । युद्द व्यवस्था परिवर्तन गर्न मात्र लडिदैन अवस्था परिवर्तन गर्न रोग भोकसँग पनि लडिन्छ र लड्नुपर्छ । यतिबेला ज्यानको माया नगरेर कुर्वानी गर्ने, बलिदानको कोटा चुकाउने अवसर थियो तर विवेकशीलले यसलाई अवसरको रुपमा चिनेन, जानेन या साहस गरेन ? हजारौं भोकाको लागि काम गर्ने समय, हजारौं विचल्लीमा परेकाहरुलाई साहारा दिने मौका, माटोको मायाले सीमामा रोकिएकाहरुको उद्दार र ब्यबस्थापन । भोक तिर्खा र भयले ग्रस्त भएर आफ्नो गाउँघर फर्कन सयौं किलोमिटर चैत्रको घाममा हिड्नेहरुको लागि सवारी साधनको उपलब्धता, यी सबको लागि टिम बनाएर काम गर्नुपर्थ्यो त्यो सकेन ज्यानको माया गर्‍यो

अहिले काठमाडौँलगायत देशमा आइसोलेसन र  क्वारेन्टाइनको कत्रो अभाव छ यही अवसरमा तपाईहरुले आफ्नो पार्टीको तर्फबाट कम्तिमा एउटा अस्थाई क्वारेन्टाइन स्थलको व्यवस्था गरेर सरकारलाई हस्तान्तरण गर्ने ल्याकत राख्नुपर्थ्यो । सक्नु भएन । सामाजिक संजालमा सामान्य गतिबिधि राख्यो आफ्ना कार्यकर्ताको लाइक र कमेंन्ट हेर्यो, दंग पर्यो बस्यो यति मात्रै होइन र थिएन राजनीति । तर पनि रन्जु मार्फत नगर पिता बिद्या सुन्दरलाई पिपीई हस्तान्तरण गरेर स्वास्थ्यकर्मी अनि सुरक्षाकर्मीको मनोवल उच्च राख्न गरेको प्रयास, ठाउँ ठाउँमा उद्दार राहत वितरण र सूचना सम्प्रेषण जस्ता कार्यले जनतालाई केहि शितलता अनुभूत गराएको छ ।

प्रमुख प्रतिपक्ष सेरोमोनियल र सत्ताको छायाँ जस्तो मात्र देखिदा कतै प्रमुख विपक्षी पार्टी विवेकशील मात्रै त होइन भन्ने छाप पनि नपरेको होइन । यद्यपी, प्रयासहरु यति मात्रै थिएनन र अझ अरु हुनेछन दिन कस्ता आउनेछन् त्यो हेर्न नै बाकीं छ । डाक्टरहरुले भने झैँ पेनिक नभए पनि प्रिप्रिरेशन चै खाँचो छ सम्भावित संकटको लागि । सरकारले अहिले प्राथमिकता के हो भन्ने जान्दैन उसमा संवेदनशीलता छैन । भएको भए अहिले सुकुम्बासी आयोग बनाएर आयोगमा भर्ती खोल्नुपर्ने समय थिएन । कांग्रेस सुस्त छ । उसमा उमंग बाँकी छैन । अरु दुला भित्र छन् । झन् भोलि खतरा आयो भने को निस्कने ? संकटलाई अवसरमा बदल्न पनि खतरासँग सतर्कतापुर्वक भिड्ने र खट्ने टिम चाहिन्छ ।साहसी योद्दाहरू आवश्यक हुन्छ त्यो विवेकशीलले तयारी गरेको छ र ? सरकार सेवक बन्न नसकेकोले पार्टी सेवक बनेर भावी सरकार सेवकहरुको बनाउने बातावरण निर्माण गर्न कोही जीवन बलिदान गर्न तयार हुनुपर्ने होइन र ? सुन्दा अप्रिय लाग्छ तर परिवर्तन गर्न जीवन दाउमा लगाएर हिड्ने सहास चाहिन्छ । ‘बाँचे हस्तिनापुरको राज, मरे चपरीमुनिको बास’ रोज्ने हिम्मत र संकल्पित समुह चाहिन्छ । के त्यस्तो लडाकु दस्ता तयार गरेको छ विवेकशील दलले कोरोनारुपी अदृश्य वैरीसँग लडन ?

प्रिय विवेकशील साथीहरु,

राजनीतिलाई केही टक्काको ढक तराजुसँग तौलने भिड र त्यस्तै जनता भएको ठाउँमा, विशुद्द राजनीति सजिलो त छैन । तपाईहरु पनि यही समाजको मनोविज्ञान र हावापानीको उपज हो । बेदागी चरित्र र ब्यबहार नहोला तर सत्कर्ममा लाग्दा दुष्कर्म गर्नेहरुले खेल्छन। डुल्छ्न र छल्छन ।  यही बिचमा तपाईहरु साझा र विवेकशील बनेर एक हुनुभयो र वर्ष दिन पछि पुनः आ आफ्नो चुलो धुँवाउन तयार बन्नुभयो । यसले के देखाउँछ भने तपाईहरु पनि अरु पार्टी भन्दा भिन्न देखिन सक्नु भएन । यो दुखद मिलन र बिछोडको पीडा तपाईहरुलाई गहिरो गरि दुखेको होला नै । तर जनतालाई जुन…आए पनि कानै चिरेका भन्ने आभाष गराउनु भयो । जनताको आशामा निराशा छायो । लड्नु सामान्य कुरा हो तर लडेर उठ्न नसक्नु चै असामान्य हो कतै यही असामान्य पीडाले तपाईहरु जहाँ पुग्नुपर्ने हो, त्यँहा नपुगेको हो कि ? उज्जल थापाको विश्राम हो या पलायन ? थकान हो या नेतृत्व हस्तान्तरणमा सहज उदाहरण ? जनताले बुझ्न सकिरहेका छैनन् ।

तपाईहरुको बारेमा चासो राख्ने, गुनासो राख्ने र सुझाब दिने मत दिने मान्छेहरुलाई बुझाउन नसकेकोमा कुनै खिन्नता छ कि छैन ? जिउँदा मान्छेहरुको भाग खोसेर मरेका मान्छेहरुको सराद्दे गर्ने राजनीति छ देशमा । जातीय छुवाछुत यति निर्मम र कहालीलाग्दो छ देशका कतिपय भागमा । शिक्षा र स्वास्थ्यमा व्यापार छ । राज्य निरीह छ । सरकार नभेट्टाएर नागरिकहरु सरकारको खोजीमा छन् । यतिबेला पनि तपाईहरु जाग्नु भएन भने लगन पछिको पोतेको रुपमा तपाईहरुको पार्टी र अभियान बन्ने छ । सिर्जनात्मक, रचनात्मक र व्यवहारत्मक हुन र बन्न ढिलो नगर्नुस ।

मिलनजी तपाई बैचारिक हुनुहुन्छ । सार्वजनिकरुपमा यहाँका विचारहरु सबैका सामु आउँछन । ती प्रशंसनीय छन । शिक्षा सुधार गर्न यहाँका विचारहरु अनुकरणीय र चर्चित छन ।  तर पार्टी प्रमुखको दायित्व र सिमा यो भन्दा अलि पर पनि छ है । संगठन ,प्रशिक्षण र जन आकर्षण गर्ने नीति योजना र कार्यक्रम कार्यान्वयन , सेनापति विचारक हो योद्दा हो, सिपाही हो अनि उत्प्रेरक आदर्श  र ब्यबहार पनि । संकटलाई अवसरमा बदल्ने बेला पार्टीको सेनापति हुनुहुन्छ ।  भोलि देश हाँक्ने सेनापतिले आज नै आफ्नो रणकौशल देखाउने, रणनीति तयार गर्ने र लागु गराउने अभ्यास गर्ने संयोग हो । यसको सदुपयोग गर्नुस ।

फूल रोप्ने राजनीति गर्नेले फूल गोडेर मात्रै हुँदैन । कलमी गरेर ,काँटछाँटगरेर, नयाँ उमारेर पनि बंगैचा हराभरा पार्नुपर्छ । राजनीतिमा लागेर तपाई बिग्रे खासै फरक पर्दैन तर तपाईले नेतृत्व गरेको जमात बिगार्नु भयो भने देशलाई पनि क्षति पुग्छ । समय घर्की सकेको छैन यहाँको सुयत्नको पर्खाइमा मुलुक छ । सुन्दर भोलिको लागि सपना धेरै आए अब ब्यबहार समयको आकांक्षा हो । हाम्रा आवश्यक्ता र प्राथमिकता र गन्तव्य बोध गर्न नसकेको राजनीतिक पार्टीहरुको भीडमा तपाईहरुलाई पनि उस्तै हुने छूट छैन है ।

प्रिय रन्जु,

‘म पागल हूँ आफ्नै कालमा शान्त र समृद्ध नेपाल बनाउन लागिपरेको छु । मेरो पागलपन साबित गर्न म कर्मठ र इमान्दार र लगनशील रहनेछु ।’ रन्जुको फेसबुक वालमा स्थानीय चुनावमा प्रतिस्पर्धा गर्दा यो स्लोगन थियो, कतै यो मेटिएपछि देशप्रतिको निष्ठा, राजनीति प्रतिको कर्मठता अनि समयचेतको पागलपनमा कमि आएको त होइन ? खबरदारी गर्छु । निरन्तर खबरदारी । सम्भावना भएकाहरु जोसुकै हुन् तिनीहरुलाई खबरदारी आलोचना, उत्प्रेरणा मेरो धर्म र निष्ठा हो । ग्रहण गर्नेले आफ्नो क्षमता र ल्याकत अनुसार ग्रहण गर्छन । मेरो शैली ,भाषा र लिखतमा खोट होला तर मनशायमा छैन । यो मेरो दावी हो । भाग्ने छुट नभएकोले रन्जुलाई लखेटेको हूँ । भागेको भए भेटन सकिन्नथ्यो । राजनीति हारेर पनि जितिन्छ । जितेर पनि हारिन्छ । तर खेल्न छोड्नु हुँदैन । सधै चुनावी जीतहार मात्रै राजनीतिलाई ग्राह्य हुँदैन । मुल्य, मान्यता, थिति र नैतिकताको स्थान पनि उच्च रहन्छ । 

शुभेच्छुक 

-संजिव कार्की