
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का सांसद उपेन्द्र यादवले सरकारका कारण नेपालीहरूले नागरिकता पाउन नसकेको आरोप लगाउनुभएको छ ।
शनिबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उहाँले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताउनुभयो ।
सांसद यादवले सरकारले नागरिकहरुलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तानहरू, राष्ट्रिय अधिकारविहीन भएर बाच्न विवश रहेको बताउनुभयो । सरकारले नागरिकता विधेयक तत्त्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने उहाँले बताउनुभयो ।
सांसद यादवले मधेसमा निर्वाचन क्षेत्रहरूको पुनर्निधारण गर्नुपर्ने माग राख्नुभयो । निर्वाचन क्षेत्रहरू तय गरिएको बेलामा भन्दा अहिले जनघनत्व बढेकोले त्यसको पुनर्निर्धारण हुन आवश्यक रहेको बताउनुभयो ।
सांसद् यादवले समानुपातिक समावेशिताको कुरालाई शासक वर्गले विशेष महत्व नदिएको बरु त्यसमा नै आफ्ना मान्छेहरू घुसाउने गरेको आरोप लगाउनुभयो । सबै क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याएर विकासलाई सन्तुलित ढंगले अघि बढाउने नीति लिनपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्