
एजेन्सी । बलिउडका अभिनेता सोनु सुद करिब ३ वर्ष भन्दा लामो समयपछि बलिउड फिल्ममा फर्किँदै छन् ।
उनले काम गरेको बलिउडको अन्तिम फिल्म ‘सिंबा’ हो । जसमा उनले रणवीर सिंहसँग काम गरेका थिए ।
लामो समयपछि उनी फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा फेरी काम गर्न लागेका हुन् । बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ मा उनी सुपरस्टार अक्षय कुमारसँग देखिने भएका छन् ।
फिल्मको ट्रेलर भने सार्वजनिक भैसकेको छ । फिल्मलाई भने आगामी जुन ३ देखि रिलिज गरिने छ ।
हालै सोनुले भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै साउथ फिल्म र बलिउड फिल्मबारे आफ्नो धारणा राखेका छन् । उनले लामो समयदेखि साउथ फिल्ममा काम गरिरहेका र बलिउडमा किन काम नगरेको भन्ने प्रश्नमा उनले यसो भनेका छन्, ‘म पहिला देखि नै आफुले काम गर्ने फिल्मको कथालाई छनौट गरेर मात्र काम गर्ने गर्थे । त्यो साउथ फिल्म होस वा बलिउड म पहिला फिल्मको कथा हेर्ने गर्छु । साउथ फिल्मले मलाई खराब हिन्दी फिल्म गर्न बाट बचाएको छ । किनकी हरेक कलाकारको जिन्दगीमा एउटा यस्तो समय आउछ जहाँ ठूलो पर्दामा देखिनका लागि मात्रै फिल्ममा काम गरिन्छ । साउथ फिल्मले मलाई यो सोच बाट बचाएको छ ।’
चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ‘सम्राट पृथ्वीराज’ मा अक्षय कुमार, सोनु सुद, संजय दत्त, मानव विज र पूर्व विश्व सुन्दरी मानुषी छिल्लर मुख्य भूमिकामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्