
काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा तीन परिवारका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको छ । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दुर्घटनामा मृत्यु भएको जानकारी दिनुभएको हो ।
मेयर महतोका अनुसार दुर्घटनाग्रस्त विमानमा लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।
उनीहरू मुक्तिनाथ दर्शनका लागि पोखराबाट विमानमा जोमसोम जाँदै गर्दा विमान दुर्घटना भएको हो ।
यस्तै, गोरखाको एकै परिवारका चार जनाको पनि दुर्घटनामा मृत्यु भएको छ । गणेशनारायण श्रेष्ठ, उहाँकी श्रीमती रश्मी श्रेष्ठ तथा दुई छोरी रविना श्रेष्ठ र रोजिना श्रेष्ठको ज्यान गएको छ ।
यस्तै, विमान दुर्घटनामा मृत्यु भएका भारतीय चार जना पनि एकै परिवारका रहेको थाहा बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार विमान दुर्घटनामा मृत्यु भएका वैभवी बन्देकर, अशोक त्रिपाठी, धनुष त्रिपाठी र ऋतिका त्रिपाठी एकै परिवारका हुन् । वैभवी बन्देकर अशोककी श्रीमती हुन् । उनीहरूबीच सम्बन्ध विच्छेद भए पनि दुई सन्तान लिएर मुक्तिनाथ दर्शनका लागि आएका थिए ।
तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्