
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको बसपार्क संचालन नभएको भन्दै स्थानीयहरुले फिदिम नगरपालिकाको ध्यानकर्षण गराएका छन् ।
दुई पटकसम्म उद्घाटन गरेर पनि बसपार्क संचालनमा नआएको भन्दै मंगलबार नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेलाई भेटेर ध्यानकर्षण गराएका हुन् ।
यस्तै, उनीहरुले जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित राजनैतिक दलहरु, नयाँ शहर आयोजना कार्यालय, जिल्ला प्रहरी कार्यालय, हिमशिखर गुल्म कार्यालय, पाँचथरका नवनिर्वाचित जनप्रतिनिधीहरु, यातायात ब्यवसायी संघहरु, पाँचथर उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण गराउँदै बसपार्क संचालन सहयोग उपसमिति अध्यक्ष कमलराज नेम्बाङले राज्यको करौडौँ रुपैया लगानी गरेको बसपार्क थन्किएको तर बजारमा भने बढ्दो चापका कारण फिदिम बजार अस्तब्त भएको भन्दै यथाशक्य चाँडो बसपार्क संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व उपाध्यक्ष विजयवोध लावतीले राज्यको करोडौँ रुपैया लगाएर बनाएको बसपार्क संचालन नहुनु दुःखद भएको बताउँदै यसको कार्यान्वयनमा नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले बसपार्कलाई सु-ब्यवस्थित ढंगबाट संचालन गरेर नगरले राम्रो आम्दानी समेत लिन सक्ने बताउँदै यसतर्फ नगरको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, वडाको पहिलो बैठकले समेत फिदिम २ पल्लोटारमा रहेको बसपार्कलाई जतिसक्दो चाँडो संचालन गर्ने निर्णय गरेको र त्यसको कार्यान्वयनको लागि नगरकार्यपालिकाको बैठकले जतिसक्दो चाँडो बसपार्क संचालनमा लाग्नुपर्ने बताउनुभयो ।
फिदिम नगरपालिका वडा न. १ का वडा अध्यक्ष गजाधार भट्टराईले फिदिम–२ मा बसपार्क संचालनका लागि वडा न. १ वाधक नरहेको बताउँदै यसका लागि वडा न.सक्दो सहयोग र समन्वय गर्ने बताउनुभयो ।
ध्यानकर्षण पत्र बुझ्दै फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले बसपार्क संचालन नहुनको कारण,बसपार्क संचालन नहुँदाको असर,बसपार्क संचालन नहुनको आधार के हो त त्यसको लागि सवै सरोकारवालाहरुले अध्ययन गरी जति सक्दो चाडो बसपार्क संचालनमा लाग्नुपर्ने बताउनुभयो ।
त्यसका लागि आफू र नगरपालिका सकरात्मक रहेको भन्दै बसपार्क संचालनका लागि सवै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
ध्यानकर्षणपत्र वुझ्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले स्थानिय तहको निर्वाचनताको समयमा समेत आफूहरुले बसपार्क कार्यान्वयन कुनै हालतमा गर्ने प्रतिवद्धता ब्यक्त गरेको हुँदा जति सक्दो चाँडै बसपार्क संचालन हुने वचनबद्धता ब्यक्त गर्नुभयो ।
विगत ०७२ सालमा र ०७४ सालमा गरेर दुई पटक बसपार्क उद्घाटन गरिएको भएपनि अहिले बजार क्षेत्रबाट बसपार्कमा सवारी नजाँदा बसपार्क संचालनमा आउन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्