२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न– कमिसन नआउन भएर शिक्षा र स्वास्थ्यमा बजेट कटौती भएको हो ?


728
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएरनै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौति गर्नुभएको हो ? भनि अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नुभएको छ ।

सचिव भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको भन्दै कमिशन नआउने भएरनै त्यसो गरिएको हो भनि गम्भीर आशंका व्यक्त गर्नुभएको छ ।हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकीर गर्नुभयो ।

‘अहिले टिकटकमा माननीय अर्थमन्त्रीज्यूको एउटा भिडियो आइरहेको छ । त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिइरहनु भएको थियो । त्यो मैले हिजो मात्रै टिकटकमा हेरें । शिक्षा र स्वास्थ्यमा २०– प्रतिशत बजेट किन बढाइएन भन्ने सन्दर्भमा उत्तर दिँदा उहाँले अर्थमन्त्रीलाई कमिशन कम आउने बताउनुभएको थियो,’ उहाँले थप्नुभयो, ‘आज उहाँ स्वयम अर्थमन्त्रीको रूपमा बजेट प्रस्तुत गर्नुभयो, शिक्षा बजेट १० प्रतिशत पुगेको छैन भने स्वास्थ्यमा गतवर्षको भन्दा बजेट घटेको छ, अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौति गर्नुभएको हो त ?’

पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गर्नुभयो । उहाँले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरूको विकास र उत्पादनका साधनहरूको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताउनुभयो ।

सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढने अवस्था नरहेको पनि पटकपटक दोहोर्‍याउनुभयो ।