५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


श्रीमानको लामो आयूको कामना गर्दै मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइयो


130
Shares

काठमाडौं । विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत अर्थात् वटसावित्री पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

श्रीमानको लामो आयू र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरूले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ ।

सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औंसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् ।

व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन विहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । जनकपुरको राम मन्दिर सहितको विभिन्न स्थानहरूमा विहानैदेखि पूजा गर्न महिलाहरूको भीड लागेको छ ।

महिलाहरूले व्रत पूजा गरी कथा सुनेर वरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन् । वरको बोटमा सूतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ ।