२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुनकोशी–मरिण डाइभर्सनको निर्माण तीव्र


312
Shares

काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण तीव्र पारिएको छ ।

सिन्धुली र रामेछापको सिमा क्षेत्रमा रहेको सुनकोशी नदीको पानीलाई १३ किलोमिटरसम्म सुरुङ निर्माण गरी सिन्धुलीको मरिण क्षेत्रमा पुर्‍याई विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

त्यसैगरी पानीलाई मरिण हुँदै तराईमा सिंचाइ गर्ने आयोजनाको उद्देश्य छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माण अघि बढाइएको आयोजनाको सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा टिबिएम मेसिनको बेस लगायतका काम सम्पन्न भएका छन् ।

सुनकोशी गाउँपालिकाको कानढुङग्री र गोलान्जोर गाँउपालिकाको खुर्कोट बीचबाट सुनकोशी नदीको प्रतिसेकेन्ड ६७ हजार लिटर पानी १३ किलोमिटरसम्म सुरुङ निर्माण गरी मरिण क्षेत्रमा पुर्‍याइनेछ ।

३१ मेगावाट विद्युत उत्पादन गर्ने र पानी हालको बागमती सिंचाइ योजनाको नहरबाट तराईका सर्लाही, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लामा सिंचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

झण्डै ४६ अर्ब रुपैयाँको लागत रहेको यो आयोजनाको निर्माणले मधेश प्रदेशका जिल्लाहरुमा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध हुने बताइएको छ ।