
काठमाडौं । अमेरिकाको ओक्लाहोमा राज्यको एक अस्पतालमा अज्ञात ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएकाे छ ।
ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पस भवनमा गोली चल्दा चार जनाको मृत्यु भएको पुष्टि भएको हाे । अन्य मानिसहरु पनि हताहत भएको हुनसक्ने अनुमान गरिएको छ ।
अहिलेसम्म परिचय नखुलेको आक्रमणकारी पनि मृत्यु भएको त्यहाँको प्रहरी प्रशासनले बताएको छ । ओक्लाहोमाका प्रहरी कप्तान रिचर्ड ल्युनबर्गका अनुसार ३५ देखि ४० वर्ष उमेरको ब्यक्तिले एउटा राइफल र अर्को ह्याडगनले अन्धाधुन्द गोली प्रहार गरेको हो । घटनामा बिरामी र कर्मचारीसहित थुप्रै मानिसहरु घाइते भएको पनि उनले बताएका छन् ।
डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो । गत साता अमेरिकाको टेक्सस राज्यको एक विद्यालयमा भएको अन्धाधुन्ध गोली प्रहारबाट पनि २१ जनाको मृत्यु भएको थियो । सन् २०२२ सुरु भए यता अमेरिकामा भीडभाडमा अन्धाधुन्द गोली प्रहार भएको यो २ सय ३३औं घटना भएको गन भाएलेन्स आर्काइभले जनाएको छ ।
सन् २०२२ को १ सय ५१ दिन पूरा भइसक्दा पनि यति धेरै घटना भईसक्नुले भीडभाडमा आक्रमण हुने क्रम तीब्र रुपमा भएको पुष्टि गर्ने पनि गन भाएलेन्स आर्काइभले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्