१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देश बनाउनलाई बलियो राष्ट्रिय शक्ति चाहिन्छ, स्वतन्त्रले सक्दैनन् : शंकर पोखरेल


2.08k
Shares

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउनुभयो ।

जति धेरै राजनीतिक दल हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने उहाँको भनाइ छ । देश बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्ने महासचिव पोखरेलको भनाई छ ।

स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उहाँले उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताउनुभयो ।

भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको उहाँको भनाइ छ । व्यापारीले आयातमुखि नीति फेरि नआउने ठानेर अस्वभाविक रूपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितीमा ह्रास आएको उहाँले बताउनुभयो ।

राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको उहाँको आरोप छ । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उहाँले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राख्नुभयो ।

सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडी बढाएसँगै बजारबाट पैसा हराएको उहाँको भनाई छ ।