
काठमाडौं । राजा महाराजाहरू कहाँ बस्लान्, के खालान् ? उनीहरूको दरबारिया परिवेश कस्तो होला ? यस्तो जिज्ञासा आम मानिसमा हुनु स्वाभाविक हो ।
२०६५ सालमा पूर्वराजा ज्ञानेन्द्र शाहको बहिर्गमनसँगै राजपरिवारको निवास रहेको नारायणहिटी दरबार संग्रहालय बनेपछि सर्वसाधारणका धेरै जिज्ञासा मेटिएका छन् ।
श्रीसदन पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको वासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको भान हुन्छ । नेताहरू विलासी बनेको टिप्पणी भइरहँदा राजपरिवारको यो सादगी जीवनले धेरैको ध्यान खिचेको छ ।
श्रीसदनमा प्रवेश गर्ने बित्तिकै केही सजावट देखिए पनि कोठा सामान्य छ । राजा वीरेन्द्र र रानी ऐश्वर्यको शयन कक्ष, प्रयोग गर्ने शौचालय, निजी कार्यालयले राजपरिवार सम्झाउँछ ।

राजपरिवारले पालेको कुकुर झुल्ने झुला आजकल रित्तो छ । झुलामा २० वर्षदेखि कुनै कुकुर बसेको छैन । अनौठो त के भने दरबारकाण्डको केही समयमा नै राजाले माया गरेर पालेको कुकुर मर्यो ।

अब लागौं, पूर्व अधिराजकुमार निराजनको शयन कक्षतिर । सानो आकारको खाटमा अधिराजकुमार सुत्थे भन्दा अनौठो लाग्नसक्छ । अधिराजकुमार निराजन जिम गर्ने थलो कति सामान्य छ भन्ने तस्वीर हेर्दा आफैं अनुमान गर्न सकिन्छ ।


पूर्वअधिराजकुमारी श्रुतीको शयन कक्ष पनि सामान्य नै छ । कक्षमा भएको फलामको ह्याङ्गरमा उहाँ कपडा झुण्ड्याउनुहुन्थ्यो ।


सामान्य ठाउँमा सुत्ने राजामहाराजाको भान्सा पनि सामान्य नै देखिन्छ । राजपरिवारको भान्छा अहिलेका धनाड्यको भान्छाहरूझैँ बिलासी देखिँदैन । राजा बीरेन्द्रको लागि खाना बनाउन पित्तलको कसौडीको प्रयोग गरिन्थ्यो ।

भान्छा कोठासँगैको बार सेक्सनमा अझै पनि मदिराका बोतल र ग्लास जस्ताको तस्तै राखिएका छन् । राजा महाराजाले आफना सुसारेहरूलाई बोलाउनु परेको खण्डमा पछाडि भागमा रहेको घण्टी बजाउने चलन थियो ।



दरबारमा भएको फोटो एल्बमले राजपरिवारको इतिहासलाई जीवन्त राख्न मद्दत गरेको छ । देशकै ऐतिहासिक गाथा बोकेको सम्पदाको संरक्षण, संवर्द्धनमा सबैको हातेमालो आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्