
सोलुखुम्बु । सोलुखुम्बुको सोलूदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदुधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने मोटरेबल पुल मङ्सिरभित्रै निर्माण सम्पन्न हुने भएको छ ।
नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले पुलको शिलान्यास गर्दै दूधकोशी नदीमाथि मङ्सिरभित्रै मोटरेबल पुल तयार हुने बताउनुभयो । माप्य हुँदै खुम्बु जोड्ने सडकखण्ड पनि भएकाले मोटरेबल पुलले पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने उहाँको विश्वास छ ।
खुम्बु जोड्ने छोटो मार्गको रूपमा यो सडक रहेकाले तोकिएको समयमा गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई मेयर शेर्पाले निर्देशन दिनुभयो ।
महादेब खिम्ती हिराचन जेभीले ७ करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा उक्त पुल बन्न लागेको हो । गुणस्तरीय काम गरी पुल समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका बुद्धिबहादुर मगरले बताउनुभयो ।
पुल निर्माणपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामाग्रीहरूको मूल्य समेत सस्तिने स्थानीयको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्