
काठमाडौं । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ ।
लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको हो ।
अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत् रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो ।
यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ । सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । बिरामीको चाप दिनदिनै बढदै गएकाले सेवा अवधि घटाउँदा झन धेरै चाप परेको उहाँले बताउनुभयो ।
सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्