
काठमाडौं । होटल एशोसिएशन नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताउनुभएको छ ।
हानले जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चालन गरिसकेको जानकारी दिँदै उपाध्यक्ष शाहले प्रयोगमा रोक लगाएको बताउनुभयो ।
शनिबार सञ्चारकर्मीसँग कुराकानीमा उपाध्यक्ष शाहले जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै उहाँले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताउनुभयो ।
उपाध्यक्ष शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताउनुभयो । २०२४ सम्ममा होटलमा आउनेहरूलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भए पनि यसले धेरै फाइदा गर्ने बताउनुभयो । ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरूको प्रयोगमा जोड दिने उहाँको भनाइ छ ।
शाहले प्लाष्टिक फ्रि सामानहरू पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताउनुभयो । प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रहरूमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्