१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनले पुनः कब्जामा लियो सेभेरोडोनेत्स्कको केही भाग


5.525k
Shares

एजेन्सी । युक्रेनले रुसी सेनाको नियन्त्रणमा रहेको आफ्नो प्रमुख शहर सेभेरोडोनेत्स्कको केही भाग पुनः आफ्नो कब्जामा लिएको बताएको छ ।

यसअघि लुहान्स्कका गभर्नर सेर्ही हाइडाइले पूर्वी सहरको ७० प्रतिशत भाग रुसको हातमा परेको बताएका थिए । रुसी सेनाले सेभेरोडोनेत्स्क र बाख्मुत क्षेत्रहरूमा आक्रमण केन्द्रित गरेको युक्रेनले बताएको छ ।

सेभेरोडोनेत्स्कमा तोप र टयांकको सहयोगमा आक्रमण भइरहेको र सहरमा भिडन्त जारी रहेको बताइएको छ । सेभेरोडोनेत्स्कको दक्षिण–पश्चिममा रहेको बाख्मुत सहरमा अगाडि बढ्ने असफल प्रयासपछि रुसी सेनाहरू केही पछि हटेका छन् ।

डोनेत्स्क क्षेत्रमा, रुसले मोर्टार, र हवाईमार्फत युक्रेनी सेनाहरूमाथि आक्रमण गरिरहेको छ । तर यहाँ रुसको प्रगतिको गति सुस्त रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच रुसले ओडेसा नजिकै युक्रेनी सैन्य विमान खसालेको दाबी गरेको छ ।

रुसले आफ्नो सेनाले ओडेसाको ब्ल्याक सी बन्दरगाह नजिकै हतियार र गोलाबारी बोकेको युक्रेनी सैन्य यातायात विमानलाई खसालेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले शनिबार एक अपडेटमा उक्त विमानले हतियार र गोलाबारी पु¥याइरहेको बताएको छ । सोही क्षेत्रमा विदेशी भाडाका सैनिकहरुको पोष्टमा पनि मिसाइल प्रहार गरेको रुसको दाबी छ ।