१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जिसस बैतडीका प्रमुखमा दुई जनाको उम्मेदवारी, एमालेविरुद्ध स्वतन्त्रसहित कांग्रेस–माओवादीको गठबन्धन


533
Shares

बैतडी । जिल्ला समन्वय समिति बैतडीको प्रमुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

शनिबार भएको मनोनयन दर्तामा जिसस नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने एमाले एक्लैले उम्मेदवारी दर्ता गरेको छ ।

प्रमुखका लागि गठबन्धनबाट कांग्रेसका खगेन्द्रसिंह धामी र एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट हेमा भट्ट (कपाडी) उम्मेदवारी दर्ता भएको छ ।

खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी पर्दा एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, खुला तीन महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका यशोदा चन्द, माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना पार्कीको उम्मेदवारी दर्ता हुँदा एमालेबाट चन्द्रा जोशी (पाण्डेय) र यशोदा महरा गरेर दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

दलित सदस्यमा नेपाली कांग्रेसबाट हरु नेपाली र एमालेबाट द्रोपती दयालको उम्मेदवारी दर्ता भएको छ ।

जिल्ला समन्वय समितिमा पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने प्रावधान छ । दश स्थानीय तहमा गरेर नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसँग १२ मतभार रहेको छ भने एमालेसँग ८ मतभार छ ।

जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते हुँदैछ । मतदानको समय बिहान ७ बजेदेखि ९ बजेसम्म मतदानको समय तोकिएकोे छ ।