१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकाको फोहोर आजदेखि उठाउन सुरु गरिने

आगामी साउनदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै उठाइने

247
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका सडक तथा गल्लीहरुमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आज मंगलबारबाट उठाइने भएको छ ।

नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै फोहोर उठाउन लागिएको हो ।

शहरी विकास मन्त्रालयमा सोमबार भएको सर्वपक्षीय बैठकमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानियबासीको माग सम्बोधन गरि फोहार व्यवस्थापन गर्ने सहमति जुटेको हो ।

मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको वार्तामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीवेशी नगरपालिका लगायतका स्थानीय तहका जनप्रतिनिधिहरु सहभागि थिए ।

सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टीमिटर माटोले पुर्नेछ । त्यसो गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ ।

यसैगरी, महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य विमा गर्न सुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछन ।

महानगरपालिकाले अबदेखि उपत्यकामा संकलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्नेछ । आगामी साउनदेखि कुहिने र नकुहिने फोहेरलाई अलग्गै राख्नुपर्न व्यवस्था महानगरपालिकाले गर्ने भएको छ । कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन अन्यत्रै कारखाना स्थापना गरिने छ भने नकुहिने फोहोर मात्रै बञ्चरेडाँडामा लगेर बिर्सजन गरिने छ ।