१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकाको फोहोर विसर्जन गर्न ल्याण्डफिल्ड साइटमा फेरि अवरोध

सहमति नमान्ने भन्दै स्थानीयले फोहोर लिएर गएका गाडीलाई बाटामै रोके

5.07k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् ।

साेमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । साेमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि फोहोर विसर्जन गर्न दिनेलगायतका सहमति भएको थियो ।

तर आज काठमाडौंबाट फोहोर लिएर गएका महानगरपालिकाका गाडीलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले फोहोर फाल्न नदिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । साेमबार साँझ भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका छन् ।

ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयवासीको माग सम्बोधनगरि फोहार व्यवस्थापन गर्ने गरी सहमति जुटेको हो । सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिलसाइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टिमिटर माटोले पुर्नेछ। त्यसो गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ ।

यसैगरी महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य विमा गर्न सुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछन । महानगरपालिकाले अबदेखि उपत्यकामा संकलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्नेछ । आगामी साउनदेखि कुहिने र नकुहिने फोहाेरलाई अलग्गै राख्नुपर्ने व्यवस्था महानगरपालिकाले गर्ने भएको छ ।

कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन अन्यत्रै कार्खाना स्थापना गरिने भएकाे छ। साथै नकुहिने फोहोरलाई मात्रै बञ्चरेडाँडामा लगेर विर्सजन गरिने छ ।