१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माओवादीकाे नयाँ योजनासहित अबको बाटोः नेता प्रकाश विकल्प


689
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले यही जेठ १८ र १९ गते स्थानीय तह सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएकाे थियाे ।

अब पार्टीका नीति तथा कार्यक्रमलाई सही ढंगले प्रयोग गर्नका लागि निर्देशिका बनाउँदैछ । नेपालमा ११ वर्षे सशस्त्र युद्ध गरेपछि संविधान सभाको पहिलो चुनावमा पहिलो पार्टी बनेर नेकपा माओवादी केन्द्रको उदय भएको थियो । तर दोस्रो संविधान सभाको चुनावमा पहिलो बनेको माओवादी केन्द्र यथास्थानमा त रहन सकेन नै साथमा दोस्रो ठूलो पार्टी समेत बन्न सकेन् । दोस्रो संविधान सभाको चुनावमा माओवादी तेस्रो स्थानमा पुग्यो र अहिलेको स्थानीय तह सदस्यको निर्वाचनमा पनि तेस्रो स्थानमा नै सुरक्षित छ ।

पहिलो संविधान सभाको पहिलो चुनावमा जति जोसिलो भएर पार्टी उदाएको थियो, त्यो जोश, अहिलेको माओवादी पार्टीमा कमै देखिन्छ । जनताको चासो र समस्या समाधान गर्न नेता र राजनीतिक दलहरुले आनाकानी गरिरहेकै कारण काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारहरु राजनीतिक दलमाथि हाबी भएको धेरैदिन भएको छैन् । स्वतन्त्र उम्मेदवारको उदयले राजनीतिक दलहरुमा हलचल त पैदा भएको छ नै साथमा आगामी दिनमा जनताबाट चुनिएका जनप्रतिनिधिले जनताकै काम नगर्ने हो भने आफ्नो अस्तित्व बाँकी रहदैन भन्ने निश्चित भएको छ ।

त्यसैले पनि अबको ५ वर्ष स्थानीय तह, प्रदेश तह र संघीय सरकारमा चुनिएका र चुनिने जनप्रतिनिधिले आन्तरिक कुरालाई सल्ट्याउँदै जनसेवामुखी काम गर्न आवश्यक देखिन्छ। नेकपा माओवादी केन्द्रका नेता युवा नेता प्रकाश विकल्पले पत्रकारसँग कुराकानी गर्दै माओवादीले जीतेका स्थानीय तहमा अन्य भन्दा फरक तरिकाले काम गरिने बताउनुभयो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई समानरुपमा काम गराउनका लागि केन्द्रबाट निर्देशिका पठाउने तयारी पार्टीले गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, हाम्रो अवस्था म्यापिङ गर्ने त्यसको मुलुभूत कार्यभार थियो । हाम्रो अवस्था हामी यहाँ छौँ भन्ने थाहा पाइसकेपछि त्यसलाई के कार्यक्रम, नीतिमार्फत सम्बोधन गर्ने भनेर त्यो पत्ता लगाउने कुरा पनि थियो । नीति, कार्यक्रमलाई ठिक ढंगले कार्यान्वयन गरेर परिणाम कसरी निकाल्ने भनेर मोनिटरिङको इन्डिकेटरहरुको बारेमा पनि छलफल गर्ने कार्यक्रम थियो । हामी कहाँ छौँ भनेर अवस्था आइडेन्टीफाइ गरेका छौँ । केही निर्देशिकाहरु विकास गरेकाे उहाँले बताउनुभएकाे छ ।

उहाँले माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको विचार र सिद्धान्तअनुरुप काम गराउनका लागि निर्देशिका बनाएर पठाउन लागेको बताउनुभयो । उहाँले जेठ १८ र १९ गते निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण समेत दिइसकेको उल्लेख गर्दै पार्टीका नीति तथा कार्यक्रमहरुलाई सही ढंगले प्रयोग गर्नका लागि निर्देशिका बनाउँदै गरेको समेत बताउनुभएकाे छ ।

निर्देशिकाले नीति तथा कार्यक्रमहरुको कार्यान्वयन, परिणामहरुको अनुगमन र मूल्यांकन गर्ने सूचकहरु समावेश हुने उहाँले बताउनुभयो । उहाँले माओवादी केन्द्रबाट जनप्रतिनिधि बनेकाहरुले नागरिकको सहभागितामा नीति निर्माण गर्ने, नागरिकको सहभागितामा योजना निर्माण तथा बजेट निर्माण गर्ने र नागरिककै सहभागितामा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई परिणामबिहीन जनप्रतिनिधि भएर बस्ने छुट नभएको उहाँको तर्क छ ।

नेता विकल्पले माओवादी केन्द्रका जनप्रतिनिधिहरुले अनावश्यक तामझाम, खादा, माला तथा पिर्के सलामी नगर्ने बताउनुभयो । त्यसका निम्ति उनीहरुलाई रोक लगाइएको उहाँले जानकारी दिनुभयो । कार्य सम्पादनमा तथा जीवनशैलीमा सुशासन कायम गराउन पनि निर्देशिकाले निर्दिष्ट गराउने उहाँले बताउनुभयो । स्थानीय सरकारबाट विशेष गरेर पछाडि पारिएको क्षेत्र, वर्ग, लिङ्ग, गरिब, सुकुम्वासीहरु सबै भन्दा बढी लाभान्वित हुनुपर्नेमा पार्टीले जोड दिएको उहाँले बताउनुभयो ।

स्थानीय तहले गरेको कामको प्रतिवेदन प्रत्येक चार महिनामा पार्टीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको पनि उहाँले बताउनुभएकाे छ ।