
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरूले प्रधानमन्त्री देउवालाई नागरिकताविहीनको समस्या समाधान गर्न, मधेश आन्दोलनमा लागेका रेशम चौधरी लगायत महोत्तरी जिल्लाका नेता कार्यकर्ताको रिहाइ लगायतका माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको पार्टीका नेता उमाशंकर अरगरियाले बताउनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिटोभन्दा छिटो सांसदबाट पास गर्ने प्रतिवद्धता जनाउनुभएको बताउनुभयो ।
लोसपाले जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्वको व्यवस्था गर्न, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्न, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्न पनि माग गरेको छ ।
साथै, महंगी र कालोबजारी नियन्त्रण गर्न, भूमि वितरण सम्बन्धी कुनै कार्यक्रम लागू गर्दा भूमिहीन मधेसी, जनजाती, थारु, शिल्पी, दलित, मुस्लिमलाई प्राथमिकतामा राखि वितरण गर्न र हालसम्म जग्गाधनी प्रमाणपत्र नभएकालाई प्रमाण पूर्जा उपलब्ध गराउने जस्ता माग पनि पार्टीले ज्ञापनपत्रमा समेटेको छ ।
प्रतिक्रिया दिनुहोस्