
चिरञ्जीवी नेपाल
कुनै पनि देशलाई कमजोर र छिन्नभिन्न पार्नुछ, भने सबैभन्दा पहिले त्यहाँको भाषा, धर्म र संस्कृतिमाथि प्रहार गरिने रहेछ । गरीब, कंगाल देशहरुका साथै देश सम्पन्न भएपनि बेइमान, देशभक्तिको भावनाले हीन, लोभी र स्वार्थी प्रवृत्तिको नेतृत्व भएको देशमा त्यस्तो हुन्छ । फुटाउ र शासन गर भन्ने विदेशीहरुको रणनीति अनुसार हाम्रो देशमा पनि कहिले भाषाका नाममा, कहिले जातीका नाममा र कहिले धर्मका नाममा बेमेल र बैमनश्यता सिर्जना गराएर एकापसमा लडाउने र जुधाउने क्रियाकलाप विगत लामो समयदेखि हुँदै आएकोमा, वर्तमानमा यस्ता क्रियाकलापहरु झनै घनिभूत हुँदै आएको पाइन्छ ।
यो देशको सम्पर्क भाषाको रुपमा रहेको, बहुसंख्यक नेपालीहरुको मातृभाषा, देवनागरी लिपिमा लेखिने नेपाली भाषा माथिको आन्तरिक र बाह्य आक्रमण विगत लामो समयदेखि निरन्तर चलिरहेको छ । सिंगो नेपाल र नेपालीको अस्तित्व र पहिचान बोकेको नेपाली भाषा माथिको अतिक्रमण र प्रहार वर्तमानमा अत्यधिक बढेको छ । अजव नेपालको गजव कहानी, यहाँ आधुनिक भनिने विद्यालय र कलेजमा देशको सम्पर्क भाषा नेपाली चल्दैन । विद्यालय प्राङ्गणमा कुनै विद्यार्थीले झुक्कीएर नेपाली बोल्यो भने ऊ दण्डीत हुन्छ ।
नेपालको संविधानको धारा ७ मा स्पष्ट लेखिएको छ, देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । यसरी नेपाली भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको संवैधानिक मान्यता छ । तर यो मान्यतालाई सरकारले सम्मान गर्न आवश्यक ठानेन नै, जनास्थाको केन्द्रबिन्दु मानिएको न्यायालयले समेत यसको उपहास र अवज्ञा गरेको अवस्था छ ।
सन्दर्भ, सवारी साधनमा राखिने इम्बोस्ड नम्वर प्लेटको । नेपाली भाषा, देवनागरी लिपि र नेपाली राष्ट्रियता मास्ने कार्यमा माफिया शैलीले राज्य स्वयं लागि परेको अनुभूति गराएको छ । गाडीको नम्बर प्लेटमा देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई हटाएर अंग्रेजी भाषामा राख्नका लागि राजनीतिक दलका नेता, अदालत, कर्मचारीदेखि व्यवसायीसम्म लागेको अवस्था छ । यस्तो सम्वेदनशील विषयमा जनप्रतिनिधिको थलो संसद र सरकार त जिम्मेवार हुनु पर्नेमा त्यस्तो देखिएन । विदेशीलाई खुशी पार्न इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लादेर अबौंको कमिसन हसुर्ने, नेपाली भाषा र लिपिलाई ध्वस्त पारिदिने नियोजित योजना अनुरुप यो अगाडि बढेको स्पष्ट देखिन्छ । जनताको आस्था र भरोसाको केन्द्रबिन्दु मानिएको सर्वोच्च अदालतबाट समेत यस्तो देश घाती र जनघाती कार्यलाई रोक्नुको साटो त्यसैलाई मान्यता दिई फैसला गरेर संविधानको गम्भीर उल्लंघन गरेको छ । इम्बोस्ड नम्बर प्लेटमा देवनागरीको सट्टा अंग्रेजी प्रयोग गरिएको भन्दै २०७४ फागुनमा सर्वोच्च अदालतमा दायर रिटलाई २०७६ मा चोलेन्द्र शमशेर जबरा नेतृत्वको सर्वोच्च अदालतले खारेज गरिदिएपछि कमिसन खोरहरु र विदेशी स्वार्थ समूहहरु उत्साहित भएका हुन । कानूनी शासन र थिति बसाल्ने काम अदालतको हो । जब अदालत नै त्यस्ता मामलामा विमुख हुन्छ भने जनताले कसको भर गर्ने हो ?
गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्यले विभिन्न प्रश्न उब्जाएको छ । यातायात व्यवस्था विभाग सरकारी निकाय हो कि होइन ? हो भने त्यसले जारी गरेको सूचना गैर संवैधानिक भयो कि भएन ? नेपाली नागरिकले आफ्नो गाडीमा नेपाली भाषाको नम्वर प्लेट किन राख्न नपाउने ? नेपाली नागरिकले नेपाली भाषा प्रयोग गर्न नपाउने हाम्रो कानूनी व्यवस्था हो ? होइन भने विदेशी भाषा किन लादेको ? के सबै नेपालीले अङ्ग्रेजी भाषा बुझ्ने क्षमता राख्छन ? राख्दैनन् भने नम्बर प्लेटमा नेपाली भाषाको बहिष्कार किन ? अङ्ग्रेजी भाषा जान्नुपर्छ यसमा विवाद छैन,यसको अर्थ नेपाली भाषा बहिष्कार गर्नैपर्छ भन्ने होइन । के हामीले कसैका कमिसन हसुर्ने स्वार्थ पूरा गरिदिनु पर्ने ? मुठिभरका व्यक्तिहरुको राज्य कोष लुट्ने प्रपञ्चको साक्षी बसिदिनु पर्ने ? अनी आपूmले चाहीँ अनावश्यक खर्चको भार बेहोर्नुपर्ने ? फेरी यसै गरी राष्ट्रिय परिचय पत्रका बारेमा पनि यस्तै नाटक चलेको अवस्था छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरुमा अनिवार्य रुपमा असार मसान्त भित्र अङ्ग्रेजी भाषामा लेखिएको इम्बोष्ड नम्बर प्लेट राख्न कडा निर्देशन दिएपछि, यस्तो देशघाती र जनतामारा कर्तुत छताछुल्ल हुनुका साथै ठूलै कमिशनको चलखेल रहेको स्पष्ट भएको हो । विगत लामो समय देखि नेपाली भाषा, धर्म र संस्कृतिलाई समाप्त पार्नका लागि विदेशीहरु लागि परिरहेकोमा आफ्नो स्वार्थका लागि राजनैतिक दल र तीनको नेतृत्व अनी उच्च पदस्थ कर्मचारीहरुसमेत लागेको देखिन आएको र त्यसमा अदालतसमेतले साथ दिएको अवस्था छ, जो हाम्रा लागि अत्यन्तै दुर्भाग्यपूर्ण छ ।
गाडीको नम्बर प्लेटमा नेपाली भाषाको नै प्रयोग हुनुपर्छ । अन्तर्राष्ट्रिय भाषालाई स्थान दिएमा कुनै आपत्ती हुँदैन नै । तर, आफ्नो भाषालाई नामेट पार्ने अनी गोप्य सूचना विदेशीलाई दिने कुत्सित नियत र उद्देश्यका साथ भएका यस्ता क्रियाकलाप नेपालीलाई मान्य हुँदैन । राजनीतिक नेतृत्वको दरिद्र मानसिकता र विदेशीहरुका सामु झुक्ने प्रवृत्ति बढेर गएको छ । गरिबी र अविकासको फाईदा उठाएर नेपालमा विदेशीद्वारा कहिले भाषाका नाममा कहिले धर्मका नाममा कहिले जातीयताका नाममा वितण्डा मच्चाउँदै अस्थिरताको भूमरीमा देशलाइ फसाउने पटक –पटक दुस्प्रयास हुँदै आएको छ । त्यतातर्फ पनि जनता अर्थात हामी सजग हुनै पर्छ । इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य कमिशनको लोभमा विदेशीहरुको एजेण्डाको रुपमा जबरजस्ती लादिएको हो । यस्तो गैरसंवैधानिक कार्यको सबैले डटेर सामना गर्नुमानै देश र जनताको कल्याण छ ।
नेपाली भाषा संसार भरीका नेपाली भाषी र सिंगो नेपालको पहिचान हो, नेपाली कला,कानुन, साहित्य र सम्पदालाई चिनाउने माध्यम अनी नेपाली राष्ट्रियताको दह्रो खम्बा हो । यो हाम्रो सभ्यता संस्कृति देशप्रेम र राष्ट्रिय पहिचानसँग प्रबलरुपमा गाँसिएको छ । त्यसैले पदमा बस्नेहरुले व्यक्तिगत स्वार्थमा परेर देशको भाषा धर्म संस्कृति र पहिचानमाथि खेलबाड गर्नु हुँदैन । भाषा जस्तो संबेदनशील विषयलाई कसैको स्वार्थ सिद्धिको साधन बनाइनु हुँदैन । सरोकारवाला सबैलाई चेतना होस ।
लेखक अधिवक्ता हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्