२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको खोजी


91
Shares

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुले सरकार कता छ भन्दै खोजी गरेका छन् ।

संसदको बिहिबारको बैठकमा देशमा बढेको अनेकन समस्याको दृष्टान्त दिँदै सांसदहरुले सरकारको खोजी गरेका हुन् ।

यसक्रममा सत्तारुढ नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले सरकार कहाँ छ ? भन्दै प्रश्न गर्नुभयो । जनताका लागि कोही पनि नभएको भन्दै उहाँले सरकार जिम्मेवार र वफादार नभएको टिप्प्पणी गर्नुभयो ।

‘शैक्षिक सत्र शुरू हुँदा पाठ्यपुस्तक नहुने, खेतीका लागि मल नहुने, महँगीले ढाड सेक्दा अनुगमन गर्ने निकाय नहुने, फोहोरले राजधानी छोपिँदा व्यवस्थापन गर्न नसक्ने सरकार कहाँ छ ?’ उहाँको प्रश्न थियो । हत्या हिंसा बलात्कारले अस्मिता लुटिँदा न्याय पाउने आशा मरेको, विप्रेषणबाट देश चलेको तर तिनैका बारे राज्यले नसोचेको उहाँको भनाइ थियो ।

यस्तै, जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं सांसद हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएकामा प्रहरी प्रशासनको आलोचना गर्दै थारु र मधेसीमाथि ज्यादती गरेको आरोप लगाउनुभयो । थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ? उहाँको प्रश्न थियो । लाल आयोगको प्रतिवेदनमा प्रहरीको ज्यादती समेटिएकाले सरकारले सार्वजनिक नगरेको जिकीर गर्दै उहाँले घुमुवा प्रहरीले विचौलिया र दलालको काम गरेको उहाँले आरोप पनि लगाउनुभयो ।

यसैगरी, एमाले सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गर्नुभयो । जनक शिक्षाले समयमा पाठ्यपुस्तक छापेर पुर्‍याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने लामाको भनाइ थियो ।